शनिश्चरे । स्वास्थ्य कार्यालय झापाको आयोजनामा हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन कार्यक्रमलाई सफल बनाउन सरोकारवालासँग अन्तरक्रिया गरिएको छ ।
यही वैशाख १६ गतेदेखि ३० गतेसम्म हात्तीपाईले रोगविरुद्धको आम औषधि सेवन कार्यक्रम झापालगायतका जिल्लामा सञ्चालन हुँदैछ । अभियानलाई सफल बनाउन बिहीबार अर्जुनधारा नगर स्वास्थ्य शाखाको संयोजनमा अन्तरक्रिया गरिएको हो ।
नगरपालिकाभित्र रहेका निजी अस्पताल, पोलिक्लिनिक, क्लिनिक, डाइग्नोष्टिक सेन्टर र सरोकारवाला संघसंस्थाका प्रतिनिधिहरु कार्यक्रममा सहभागी थिए । उनीहरुले अभियान सफल बनाउन सामूहिक प्रतिबद्धता व्यक्त गरेको स्वास्थ्य शाखा प्रमुख सन्तोष चिमरियाले जानकारी दिए ।
सहभागी प्रतिनिधि डा मौसम यादवले अभियानलाई सफल बनाउन सहभागीहरुको तर्फबाट सामूहिक प्रतिबद्धता व्यक्त गरेका थिए । अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमालले अभियान सफल बनाउन निजी संघसंस्थाको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहने सुनाए ।
सरकारी निकायले मात्र अभियान सफल बनाउन सम्भव नहुने जिकिर गरेका प्रप्रअ रिमालले निजी संघसंस्थाहरु प्रत्यक्ष सरोकारवाला भएकाले सामाजिक उत्तरदायित्व बहन गर्न आग्रह गरे ।
आम औषधि सेवन कार्यक्रमको बारेमा सबैलाई जानकारी गराउँदै प्रचार प्रसारलाई तिव्रता दिने, कार्यक्रमप्रति सबैको अपनत्व सिर्जना गर्ने तथा कार्यक्रमको सफलताको लागि प्रतिबद्धता बढाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक एवम् कार्यक्रमका सहजकर्ता विश्वनाथ श्रेष्ठले जानकारी दिए ।
सहजकर्ता श्रेष्ठसँगै प्राथमिक स्वास्थ्य केन्द्र धुलाबारीका डा सञ्जिपकुमार यादवले सहजिकरण गरेको कार्यक्रममा सहभागीहरुलाई हात्तीपाइले रोगको परिचय, हातीपाईले आम औषधि सेवन कार्यक्रममा औषधि किन खाने, विश्वमा हात्तीपाइले रोगको अवस्था, आम औषधि सेवनको रुपरेखा, झापामा हात्तीपाइले रोगको अवस्थालगायतका विषयमा जानकारी गराइएको थियो ।