खेलकुद

फुटबलर एञ्जिलालाई झापामा नगदसहित सम्मान

By admin

May 04, 2024

बुधबारे । झापाको बुद्धशान्तिमा आयोजित तेस्रो आदर्श च्यालेन्ज कपको फाइनल खेलको दौरानमा महिला फुटबल टिमकी कप्तान एञ्जिला तुम्बापोलाई सम्मान गरिएको छ ।

 

प्रतियोगिता समापनको अवसरमा अहिले उत्कृष्ट फर्ममा रहेकी नेपाली राष्ट्रिय महिला फुटबल टिमकी गोलरक्षक एञ्जिलालाई नगदसहित सम्मान गरिएको हो । आयोजक आदर्श युवा क्लबले उनलाई नगद २५ हजार पुरस्कारसहित सम्मान गरेको हो ।

 

नेपाली फुटबलमा महत्वपूर्ण योगदान दिएकाले कप्तान एञ्जिलालाई सम्मान गरिएको प्रतियोगिताका संयोजक मनेष दाहालले जानकारी दिए ।

 

यसैगरी, मेची महाकाली धावन यात्रा पूरा गर्ने जिवनाथ अधिकारी, एन्फाको १३ वर्षमुनिको टिममा पर्न सफल भाइचुुङ शेर्पा, करातेतर्फ स्वर्ण पदकधारी एलिजा घिमिरे, रिले राष्ट्रिय दौडमा स्वर्ण पदकधारी चन्द्र पुलामी मगर, तेक्वान्दाेतर्फ स्वर्ण पदकधारी रेश्मा भुजेल, रेफ्री स्वं. लोकराज ढुुङगाना (मरणोपरान्त), आदर्श युवा क्लबमा पूर्व खेलाडी तथा प्रशिक्षक स्वं. विनोद गुरुङलाई पनि मरणोपरान्त सम्मान गरिएको थियो ।