इलाम । इलामको सन्दकपुर गाउँपालिका ५, जमुनामा गएराति भएको पिकअप दुर्घटनामा एक युवकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
जमुनाको सापकोटा गाउँस्थित भित्री कच्ची सडकमा प्र. १–०३–००१ च ००६९ नम्बरको पिकअप दुर्घटना हुँदा इलाम नगरपालिका ५ स्थित बरबोटका २३ वर्षीय तोया घिमिरेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई थप उपचारका लागि झापाको अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी डिएसपी प्रकाश जबेगूले जानकारी दिए ।
प्रहरीका अनुसार बिब्ल्याँटेबाट जमुनातर्फ जाँदै गरेको पिकअप सडकबाट खसेर दुर्घटना भएको हो । दुर्घटनामा इलाम नगरपालिका ४ का २० वर्षीय चालक अभिषेक तिवारी घाइते भएका छन् । उनको अवस्था सामान्य छ ।