झापा । झापाको बिर्तामोड युनाइटेड एफसी धनकुटामा जारी १६औँ सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनलमा आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठानलाई ३-० गोल अन्तरले हराउँदै बिर्तामोड उपाधिनजिक पुगेको हो ।
खेलको ४३औँ मिनेटमा बिर्तामोडका अनिश लिम्बूले गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसपछि खेलको ४६औँ मिनेटमा आयोजक टोलीका गोलकिपर प्रदिप भण्डारीले डिबक्सबाहिर बिर्तामोडका खेलाडीलाई लडाएपछि रातो कार्ड पाएर बाहिरिएपछि आयोजक १० खेलाडीमा सीमित भयो ।
खेलको ४७औँ मिनेटमा अभिषेक गुरुङले गोल गर्दै खेल २-० गोलको स्थितिमा पुर्याए । खेलको ६६औँ मिनेटमा आयोजक टोलीका पदम भट्टराईले आत्मघाती गोल गरेपछि झापाले ३-० को अग्रता बनाएको हो ।
खेलमा झापाका मौसम लिम्बू म्यान अफ द म्याच घोषित हुँदै नगद ५ हजार ५ हात पारे । बिर्तामोडले उपाधिका लागि विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ एफसीसँग शनिबार प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल, प्रमाणपत्र हात पार्नेछन् ।