खेलकुद

बिर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकपको उपाधि

By admin

May 11, 2024

धनकुटा । झापाको बिर्तामोड युनाइटेड एफसीले यहाँ जारी १६औं भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सशस्त्र प्रहरीको एपीएफ एफसीलाई पराजित गर्दै बिर्तामोड च्याम्पियन बनेको हो ।

 

शनिबार धनकुटा रंगशालामा भएको फाइनल खेलमा बिर्तामोडले एपीएफ एफसीलाई ३-० गोल अन्तरले पराजित गरेको हो । कप्तान आशिष चापागाईंले दोस्रो हाफको ६ मिनेटमा गोल गर्दै बिर्तामोडलाई अग्रता दिलाएका हुन् ।

 

यसैगरी, दोस्रो हाफको २१औैँ मिनेटमा आशिषको क्रसमा अभिषेक गुरुङले गोल गर्दै अग्रता दोब्बर बनाएका हुन् । यस्तै, ४७औँ मिनेटमा देवेन्द्र तामाङले गोल गर्दै फराकिलो अन्तर निकालेर जित सुनिश्चित गरेका हुन् ।

 

बिर्तामोड युनाइटेडका कप्तान आशिष चापागाई प्रतियोगिताको एमभीपी घोषित भए । उनले १७ हजार ५५५ रुपैयाँ प्राप्त गरे । व्यक्तिगत विधातर्फ पनि बिर्तामोडकै बर्चश्व कायम रह्यो ।

 

खेलको उत्कृष्ट गोलरक्षक बिर्तामोडका सन्दिप लिम्बू, उत्कृष्ट रक्षक देवेन्द्र तामाङ, उत्कृष्ट फरवार्ड बिर्तामोडका अभिषेक गुरुङ र उत्कृष्ट प्रशिक्षक पनि बिर्तामोडका योगेश गुरुङ घोषित भए । यस्तै, उत्कृष्ट मिडफिल्डर भने एपीएफका बुद्धिमान राई, उनीहरुले जनही ७ हजार ५५५ रुपैयाँ पाए ।

 

च्याम्पियन बनेको बिर्तामोड युनाइटेड एफसीले ५ लाख रुपैयाँ प्राप्त गरेको छ । बिर्तामोडले यसअघि ११ र १३औं संस्करणमा उपाधि रक्षा गरिसकेको छ । उपविजेता एपीएफले नगद २ लाख ५० हजारमा चित्त बुझायो ।