समाज

माईखोलामा बगाएर ल्याउँदै गरेको २० क्यूफिट काठ बरामद

By admin

May 16, 2024

झापा । इलामबाट चोरी तस्करी गरी माईखोलामा बगाएर ल्याउँदै गरेको काठ शिवसताक्षीको दोमुखामा बरामद भएको छ ।

 

आज बिहान अन्दाजी २ः३० बजेको समयमा शिवसताक्षी १० दोमुखास्थित माईखोलामा इलामबाट काठ चोरी तस्करी गरी ल्याइरहेको भन्ने खबर प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय झिलझिले, चुलाचुली सब डिभिजन वन कार्यालय ईलाम र माई सुखानी सब डिभिजन वन कार्यालय ईलामबाट खटिएका वनरक्षक तथा गैंडे सामुदायिक वन उपभोक्ता समिति माईधारको संयुक्त टोलीले अन्दाजी ६० हजार मूल्यबराबरको सखुवा जातको २०.२२ क्युबिक फिट फान्टा बरामद गरेको थियो ।

 

तस्करहरुले प्रहरीमाथि ढुंगा र गुलेलीले आक्रमण गरेको र पछि थप सुरक्षाकर्मी लगेर काठ नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक अनिश बुढाथोकीले बताए । बरामद गरिएको काठ गैंडे सामुदायिक वन माईधारमा बुझाइएको छ ।

 

यसअघि गत वैशाख १५ गते माइखोलामा त्यसरी नै बगाएर ल्याउँदै गरेको चोरीको काठ प्रहरीले बरामद गरेको थियो । ट्युबमाथि काठ राखेर माईखोलाको पानीमा बगाएर इलामबाट काठ चोरी गरी झापातर्फ ल्याउने क्रम बढेको छ ।