अर्थ बजार

दमकमा सुनजस्तो पहेलो धातु देखाई ठगी गर्ने उर्लाबारीका सन्जित पक्राउ

By admin

May 16, 2024

झापा । सुनजस्तो पहेलो धातुको टिल देखाई महिलाहरुलाई ठगी गर्ने एक जनालाई दमकबाट प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा मोरङ उर्लाबारी नगरपालिका ५ का क्षेत्री बाहुन टोल बस्ने ३० वर्षीय सन्जित शर्मा रहेका छन् । उनले दमक नगरपालिकाको हाटबजार क्षेत्रमा ज्येष्ठ नागरिक र महिलाहरूलाई विभिन्न मितिमा सुनजस्तो पहेँलो धातुको टिल देखाई ठगी गरेका थिए ।

 

उनले नगद तथा महिलाहरुले लगाएका सुनका गर–गहनाहरुसँग सट्टापटा गरी ठगी गरेको प्रहरी भनाइ छ । उजुरीको आधारमा इप्रका दमकबाट प्रहरी टोली खटिएर खोजतलास गर्ने क्रममा हिजो बिहान १० बजे दमक ६ स्थित पशुहाटबाट उनलाई पक्राउ गरिएको हो ।

 

उनको साथबाट ५६.३१० ग्राम सुनजस्तो देखिने पहेंलो धातु बरामद भएको छ । उनलाई पक्राउ गरी आज झापा जिल्ला अदालतबाट ठगी कसुरमा म्याद थपको लागि कानुनी प्रक्रिया प्रारम्भ गर्नुका साथै सो सम्बन्धमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।