समाज

उर्लाबारीका समिर, सुजन र दमकका आशिष ब्राउन सुगरसहित पक्राउ

By admin

May 22, 2024

झापा । झापामा लागुऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार  पक्राउ पर्नेमा दमकका १ जना र उर्लाबारीका २ जना रहेका छन् ।

 

मेचीनगरको पुरानो मेची पुलहुँदै भारतको पानीट्याङ्कीबाट सिटी सफारीमा नेपालतर्फ आउँदै गरेका मोरङ उर्लाबारी ५ का २६ वर्षीय समिर मगर र उर्लाबारी २ का २७ वर्षीय सुजन कार्कीलाई ब्राउन सुगरसहित मंगलबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

इलाका प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्दा उनीहरूको साथबाट १२ ग्राम १२० मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो ।

 

त्यस्तै, मेचीनगर ६ पुरानो मेची पुलहुँदै भारतको पानीट्याङ्कीबाट सिटी सफारीमा आउँदै गरेका दमक ९ का २७ वर्षीय आशिष खडरिया पनि पक्राउ परेका छन् । उनलाई ५ ग्राम १०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो । पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टा राखिएको छ ।