इलाम । इलाममा पौडी खेल्नेक्रममा दुई बालकको मृत्यु भएको छ । इलामको माई नगरपालिका ८, बाँदरगाउँस्थित माइखोलामा डुबेर ११ वर्षीय मिङ सुहाङ लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार माई नपा ८ का विक्रम लिम्बूका छोरा मिङ सुहाङ लिम्बूलाई पानीमा फेला पारी उद्धार गरेर तत्काल उपचारका लागि स्थानीय मेडिकल लगिएको थियो । थप उपचारका लागि बिएन्डसी लैजानेक्रममा उनको बाटोमै मृत्यु भएको प्रहरीको भनाइ छ ।
सोही स्थान बस्ने राजेन्द्र आङदेम्बेका छोरा अन्दाजी ९ वर्षका किस्मन आङदेम्वेको पनि त्यही घटनामा खोजतलास गर्नेक्रममा इलामको घिरलिङ भन्ने ठाउँमा पानीमा शव भेटिएको प्रहरीले जनाएको छ ।
उनीहरूसँगै पौडी खेल्न गएका दुई जनाको शव परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । बर्खामा जुनसुकै बेला खोलामा बाढी आउनसक्ने भएकाले आफ्ना बालबालिकालाई नदीनाला, खोला, पोखरीमा पौडी खेल्न नपठाउन पनि प्रहरीले सबैमा अनुरोध गरेको छ ।