समाज

व्यवसायी निर्मल भट्टराईको जन्मदिनमा विपन्नलाई सहयोग

By admin

May 24, 2024

झापा । बिर्तामोड निवासी समाजसेवी तथा व्यवसायी निर्मल भट्टराईले आफ्नो जन्मदिनको अवसरमा आमा गुमाएका मेचीनगर १२ का विपन्न परिवारका तीन बालबालिकाको निर्माणाधीन घरका लागि आर्थिक सहयोग गरेका छन् ।

 

नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष तथा विभिन्न संघसंस्थामा आबद्ध युवा व्यवसायी भट्टराईले बिहीबार परेको जन्मदिनमा आमा गुमाएका बालबालिकाका लागि बन्दै गरेको घर निर्माणमा नगद ११ हजारसहयोग गरेका हुन् ।

 

झण्डै एक महिनाअघि ती बालबालिकाकी आमा पद्मा भुजेलको ४८ वर्षको अल्पायुमै निधन भएको थियो । दैनिक ज्यालादारी काम गरेर परिवारको भरणपोषण गर्दै आएकी पद्माको निधनपछि दुई छोरा रोहन (कक्षा ५), तारा (कक्षा ४) र एक छोरी करुणा (कक्षा २)को बिचल्ली भएको थियो । उनीहरु स्थानीय बलभद्र माविमा अध्ययनरत छन् ।

 

पत्रकार खगेन्द्र घिमिरेको पहलमा भुजेलको काजकिरिया खर्च जुटेको थियो भने हाल उनै घिमिरेको संयोजनमा बास बस्नलायक पक्की घर निर्माणको कार्य धमाधम भइरहेको छ ।

 

मेचीनगर-१२ को खोला बगरमा रहेको पानी चुहिने झुपडीमा उनीहरु बस्दै आएका थिए । बगरको दश धुर ऐलानी जग्गामा बनेको उक्त झुपडीमा हाल पक्की घर बन्दैछ ।

 

सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्दै आएका भट्टराईले बिहीबार नै बिर्तामोड ७ स्थित बाह्रघरेका एक विपन्न परिवारलाई खाद्यान्न सहयोग गरे । उनले अशक्त बुद्धराज चौधरी र सुत्केरी देवकी चौधरीलाई घरमै पुगेर सहयोग गरेका हुन् ।

 

भट्टराईसहित उनकी आमा मायादेवी, श्रीमती सुमित्रा भट्टराईले उनीहरुलाई संयुक्तरुपमा खाद्यान्न सामग्री हस्तानतरण गरेका थिए । भट्टराईको सामाजिक कार्यप्रति प्रशंसा गरिएको छ ।