समाज

अर्जुनधाराका २९ सय बालबालिकालाई पोलियो खोप लगाइने

By admin

May 24, 2024

शनिश्चरे । यसवर्ष इन्जेक्ट पोलियो भ्याक्सिन (आईपीभी) खोप अभियानअन्तर्गत झापाको अर्जुनधारा नगर क्षेत्रमा रहेका २ हजार ९ सय बालबालिकालाई खोप लगाइने भएको छ ।

 

अर्जुनधारा नगरपालिकाको स्वास्थ्य शाखाले आज आयोजना गरेको आईपीभी खोप अभियान २०८१ पालिकास्तरीय खोप समन्वय समिति तथा जनप्रतिनिधिहरुको अभिमुखीकरण गोष्ठीमा उक्त जानकारी दिइएको हो ।

 

नगरकी उपप्रमुख खड्गमाया पराजुलीको अध्यक्षतामा भएको गोष्ठीमा स्वास्थ्य शाखाका अधिकृत मुकन्द बस्नेतले २०७३ साल वैशाखदेखि ०७५ साल असोज महिनामा जन्मिएका बालबालिकालाई पोलियोको खोप लगाइने भएको जानकारी गराए ।

 

उनका अनुसार यस अवधिमा पोलियोको खोपको हाहाकार भएका कारण खोप लगाउन छुटेको थियो । त्यस अवधिको अघि र पछिका बालबालिकाले नियमित खोप लगाएका छन् ।

 

यस अवधिमा जन्मिएका बालबालिकालाई खोपको अभावमा पोलियो थोपा खुवाइएको थियो । तर, मुखबाट खुवाइएका कारण दिसाबाट पोलियोको भाइरस फेला परेकाले पुनः खोप अभियान सञ्चालन गरिएको हो ।

 

जेठ १६ गतेदेखि २१ गतेसम्म खोप लगाइने भएको छ । यस खोपबाट कोही पनि बालबालिका बञ्चित हुन नपरोस् भनेर सरोकारवाला तथा जनप्रतिनिधिबाट सहयोग पुगोस् भनेर कार्यक्रम आयोजना गरिएको बताइयो ।

 

खोप सञ्चालनका लागि नगर क्षेत्रमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा बालबालिकाको तथ्यांक संकलन गर्ने कार्य भइरहेको उनले जानकारी दिए ।

 

अभियानलाई सफल बनाउन सम्पूर्ण जनप्रतिनिधिलाई स्वास्थ्य शाखाले आफ्नो वडामा अभिभावकलाई जानकारी गराउँदै बालबालिका सरिक गराउन अनुरोध पनि गरेको छ । यस वर्ष झापामा ४६ हजारभन्दा बढी बालबालिकालाई खाेप लगाउने लक्ष्य रहेकाे छ ।