अर्थ बजार

अर्जुनधाराका किसानलाई मौरीसहित २५ घार बाँडियो

By admin

May 24, 2024

खुदुनाबारी (झापा) । मौरी पालेर आम्दानी लिन इच्छुक किसानलाई अर्जुनधाराको कृषि शाखाले मौरीसहित घार वितरण गरेको छ ।

 

मौरीपालनका लागि आवश्यक तालिम प्रदान गरेर उनीहरुलाई मेलीसेरा जातको मौरीसहित ५ तलाको एक थान घार उपलब्ध गराइएको हो । अर्जुनधारा २ सँगै ६, ८ र ९ नम्बरका किसानलाई जेठ २ गतेदेखि ८ गतेसम्म आधारभूत मौरीपालन तालिम दिइएको थियो ।

 

तालिममा सहभागी २५ जनालाई मौरीसहितको एक थान घार, आवश्यक सामग्री र सुरक्षाका लागि अपनाइने पहिरन पनि प्रदान गरिएको कार्यक्रम संयोजक तथा कृषि प्राविधिक कृष्णराज जोशीले बताए ।

 

अर्जुनधारा नगर क्षेत्रमा व्यावसायिक मौरीपालनको सम्भावना देखेर कृषि शाखाले तालिम प्रदान गरेको हो । नगर कृषिमा आधारित भएको र तोरी खेतीलगायत प्राकृतिक चरनका खेती गर्ने कृषकहरु भएकाले पनि मौरीपालनको सम्भावना देखिएको छ ।

 

अर्जुनधारा नगर क्षेत्रमा २८ हेक्टर क्षेत्रफलमा तोरी खेती गरिँदै आएको तथ्यांक छ । तथ्यांकअनुसार यस क्षेत्रमा २८ हजार मौरीका घार राख्न सकिने कृषि शाखाले जनाएको छ ।

 

उनका अनुसार यस जातको व्यावसायिक मौरीपालन गर्दा वर्षमा एकै घारबाट ४० देखि ५० केजी मह उत्पादन गर्न सकिन्छ ।अर्जुनधारामा मौरीपालनको सम्भावना भए पनि धेरैभन्दा धेरै बाली उत्पादनका लागि विषादि प्रयोग गर्ने कृषक पनि भएकाले उत्तिकै चुनौती थपिने छ ।

 

सहभागीलाई ३ लाख ४८ हजार मूल्यबराबरको २५ थान मौरीसहितको घार प्रदान गरिएको कृषि शाखाकी प्रमुख एञ्जिला बिडारीले जानकारी इिन् । उनका अनुसार सहभागीलाई मौरीको जीवनचक्र, शारीरिक संरचना, कार्य विभाजन, गोला व्यवस्थापन, संयोजन, हुल निर्यास व्यवस्थापन, गृह त्याग व्यवस्थापनबारे तालिममा जानकारी दिइएको छ ।

 

यसैगरी, रोग, शत्रु जीवबाट बच्ने उपाय, चरन व्यवस्थापन, आहारा व्यवस्थापन र घारको संरचनाबारे सहभागीलाई जानकारी दिइएको छ । यस क्षेत्रमा एक सयभन्दा बढीले मौरी पाल्दै आएको बताइएको छ । मौरीपालनमा महिलाभन्दा बढी पुरुषको संख्या बढी छ ।

 

अर्जुनधारा २ का वडाध्यक्ष नरेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा शुक्रबार भएको तालिम समापनमा सहभागीहरु शिवराम भट्टराई र इन्दिरा दाहालले तालिम प्रभावकारी भएको भन्दै नगरपालिकाले यसलाई निरन्तरता दिन आग्रह गरे ।

 

शाखा प्रमुख बिडारीले स्वागत गरेको कार्यक्रममा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुली, आर्थिक विकास समितिकी संयोजक गौरीमाया चिमरिया, बोर्ड सदस्य विमला रोक्का, प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमालले आफ्ना भनाइ राखेका थिए ।

 

कृषि प्राविधिक जोशीले सञ्चालन गरेको तालिममा सहजकर्ता देवीकुमारी ओली र मनु अधिकारीलाई शाखाको तर्फबाट कदरपत्र प्रदान गरिएको थियो ।

 

वक्ताहरुले मौरीपालनलाई व्यावसायिक बनाउन आग्रह गर्दै वक्ताहरुले अर्जुनधारा २ नम्बर वडालाई मौरीको मह पाइने क्षेत्रको रुपमा परिचित गराउनका लागि सहभागीबाट पहल हुने विश्वास पनि लिएका थिए ।