समाज

अर्जुनधारामा काकामाथि खुकुरी प्रहार गर्ने भतिज अझै फरार

By admin

May 28, 2024

अर्जुनधारा । झापाको अर्जुनधारामा आफ्नै काकामाथि खुकुरी प्रहार गरेर फरार भएका भतिज अझै पक्राउ पर्न सकेका छैनन् । अर्जुनधारा १ मा एक साताअघि काकामाथि खुकुरी प्रहार भएको थियो ।

 

अर्जुनधारा १ निवासी ४६ वर्षीय टंकबहादुर एक्तेनमाथि गएको जेठ ८ गते राति आफ्नै भतिज कृष्ण भनिने सन्तोष एक्तेनले खुकुरी प्रहार गरेका थिए । घाइते एक्तेनकी छोरी सलिनाका अनुसार सन्तोषले काकामाथि राति साढे ११ बजे आक्रमण गरेका हुन् ।

 

माछापालक किसान टंकबहादुरको अहिले बिएन्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ। घरनजिकै रहेको माछापोखरीको डिलमा बनाइएको छाप्रोमा सुतिरहेको बेला अचानक टंकबहादुरमाथि सन्तोषले आक्रमण गरेका हुन्।

 

भतिजको आक्रमणमा पीि टंकबहादुरको दुवै खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ। घटनालगत्तै पीडितकी छोरी सलिनाले सन्तोषविरूद्ध इलाका प्रहरी कार्यालय अनारमनीमा निवेदन दिएकी थिइन् । तर, एक साता बित्दा पनि आक्रमणकारी पक्राउ पर्न सकेको छैन ।

 

इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले आरोपित अहिलेसम्म फरार रहेको र खोजी कार्य जारी रहेको बताए । काकामाथि खुकुरी प्रहार गर्ने सन्तोषविरूद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ।