समाज

रतुवा खोलाले जीप बगाउँदा बालकसहित दुई जनाको मृत्यु

By admin

June 04, 2024

झापा । झापाको दमकदेखि इलामको माङ्सेबुङतर्फ जाँदै गरेको बोलेरो जीप रतुवा खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ ।

 

एक महिला र एक बालकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी डीएसपी प्रकाश जवेगूले जानकारी दिए । मृत्यु हुनेमा इलाम माङ्सेबुङ गाउँपालिका ५ बस्ने वर्ष अन्दाजी ३० की सर्मिला वानेम र माङ्सेबुङ गाउँपालिका ३ बस्ने निरु लिम्बुका छोरा अन्दाजी वर्ष २ का निहाङ लिम्बू रहेका छन् ।

 

त्यस्तै इलाम माङ्सेबुङ गाउँपालिका ३ खलङ्गे बस्ने वर्ष अन्दाजी २६ की निरु लिम्बू घाइते भएकी छन् । उनको लाइफ लाइन अस्पताल दमक झापामा उपचार भइरहेको छ ।

 

सोमबार साँझ ५ः५० बजेको समयमा इलाम चुलाचुली ५ चपेटीस्थित दमक-लारुम्बा भित्री सडकखण्डमा दमकदेखि माङ्सेबुङतर्फ जाँदै गरेको लु १ च ९४९१ नम्बरको डबल क्याब बोलेरो गाडी रतुवा खोला पार गर्ने क्रममा खोलामा आएको बाढीले बगाएकाे थियाे ।

 

गाडीमा चालकसहित जम्मा ६ जना सवार रहेका थिए । घटनास्थलदेखि अन्दाजी १-२ किलोमिटर आसपासमा मृतकको शव फेला परेको थियो । चालकसहित तीनजना सकुशल निस्किएको प्रहरीले जनाएको छ ।