समाज

इलाममा पर्यटक लोभ्याउन ३६६ मिटर लामो झोलुङ्गे पुल

By admin

June 05, 2024

इलाम । पछिल्लो समय इलाम भित्रने पर्यटकलाई लक्षित गर्दै नगरपालिकाले इलाम नगरपालिका-६ र देउमाई नगरपालिका-६ जोड्ने गरी ३६६ मिटर लामो झोलुङ्गे पुल निर्माण गरिरहेको छ ।

 

इलाम नगरपालिका त्यसै पनि जिल्लाको पुरानो नगरपालिका हो । नेपाली चियाको १६० वर्षे इतिहास यही नगरपालिकामा छ । नेपालको सबैभन्दा पुरानो कृषि कारखाना अर्थात् चिया उद्योग विसं १९३५ मा स्थापना भएको चिया कारखाना पनि इलाम नगरपालिकामै छ ।

 

अन्य विभिन्न पौराणिक, धार्मिक तथा पुरातात्त्विक ढङ्गले पनि निकै महत्त्व बोकेको इलाम नगरपालिकाले अहिले पर्यटक आकर्षणको निकै प्रयास गरिरहेको छ ।

 

कूल दुई करोड आठ लाख १९ हजार १२० रुपियाँको लागतमा निर्माण सम्झौता भएका पुलको ९० प्रतिशत काम सक्किएको छ । इनपा ६ मा रहेको सेतीदेवी मन्दिर नजिकबाट निर्माण सुरु गरिएको पुलले अहिले निर्माणको अन्तिम चरणमा रहेको इनपा ६ का वडाध्यक्ष दुर्गा मदन श्रेष्ठले बताए ।

 

‘यो पुलको सबै काम सक्किएको छ । अब पुलमा प्रवेश गर्ने दुवैतर्फ अर्थात् वारी पारि नै स्वल्याब हाल्ने काम बाँकी छ । त्यो पनि स्वल्याबको काम हुँदैछ’, वडाध्यक्ष श्रेष्ठले भने, ‘नगरपालिकाको यो गौरवको आयोजना हो । साँच्चै राम्रो र मनमोहक दृश्यावलोकनका लागि पुल निर्माण भएको सेतीदेवी क्षेत्र अहिले निकै राम्रो भएको छ ।’

 

धार्मिक हिसाबले पनि प्रसिद्ध सेतीदेवीमा दैनिक श्रद्धालु भक्तजनहरूको भिड लाग्ने गरेको छ । पुल निर्माण भएपछि सेतीदेवीको दर्शन गर्दै लामो दूरीको सुन्दर पुल हेर्नका लागि पनि इलाम सदरमुकाम आइपुग्ने पर्यटकहरू त्यहाँसम्म पुग्नसक्ने अपेक्षा लिइएको श्रेष्ठ बताउछन् ।

 

इलाम बजारदेखि करिब दुई किलोमिटर दूरीमा रहेको यो क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने इलाम नगर प्रमुख केदार थापाले बताए । नगरपालिकाले यो लामो झोलुङ्गे पुलबाट ‘बन्जी जम्प’ का लागि काम गर्ने लक्ष्य लिएको बताइएको छ ।

 

पुल निर्माणहुँदै गर्दा पनि निजीस्तरबाट तीन-चारवटा टोली बन्जी जम्पको अध्ययनका लागि आएका छन् । तर, नगरपालिकाबाट ठोस निर्णय भइनसकेको बताइएको छ ।