खेलकुद

किरणको सयौँ खेलमा यमन र नेपालको बराबरी

By admin

June 12, 2024

झापा (एजेन्सी)। अतिरिक्त समयमा सम्हालिन नसक्दा नेपाल फिफा विश्वकप २०२६, एएफसी एसियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत अन्तिम खेलमा यमनसँग बराबरी रोकिएको छ।

 

साउदी अरबको दमामस्थित प्रिन्स मोहम्मद बिन फहद रंगशालामा मंगलबार राति सम्पन्न खेल २-२ गोलको बराबरीमा सकिएको हो। समूह एच मा रहेको नेपाल यसअघि सम्पन्न पहिलो लेगमा यमनसँग २–० ले पराजित भएको थियो।

 

योसँगै नेपालले एक अंक जोड्दै विश्वकप, एसियन छनोटको यात्रा सकाएको छ। यमनले भने पाँच अंक जोडेको छ। नेपालका सञ्जीव विष्ट र जिलेस्पीजंग कार्कीले गोल गरेका थिए। यमनका नासेर मोहम्मद र मोहम्मद अल दहीले गोल फर्काए।

 

खेलमा १-० गोलले पछि परेको नेपालले २-१ को अग्रता बनाएको थियो। तर, उक्त अग्रता नेपालले अन्तिम समयसम्म जोगाउन सकेन। खेलको नवौँ मिनेटमा यमनका नासेर मोहम्मदले पेनाल्टीमा गोल गर्दै सुरुआत अग्रता दिलाएका थिए। तर, २२औँ मिनेटमा सञ्जीवले गोल गरेपछि नेपाल खेलमा फर्किएको थियो।

 

दोस्रो हाफको ६६औँ मिनेटमा जिलेस्पीले गोल गर्दै नेपाललाई २-१ को अग्रता दिलाए। तर, अतिरिक्त समयको पहिलो मिनेटमा मोहम्मद अल दहीले गोल गर्दै खेल २-२ को बराबरी सक्काए।

 

यसैबीच, नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर एवम् कप्तान किरण चेम्जोङ एक सयौं खेल खेल्ने पहिलो नेपाली फुटबलर बनेका छन्। साउदी अरबको दमाममा विश्वकप २०२६ छनोटको अन्तिम खेलमा यमनविरुद्ध पहिलो रोजाइमा रहेर मैदान उत्रिएसँगै उनी एक सयौं खेल खेल्ने पहिलो खेलाडी बनेका हुन्।