बिर्तामोड । झापाको बिर्तामोडमा मिस्टर झापा बडीबिल्डिङ च्याम्पियनसीप २०८१ हुने भएको छ । फस्ट स्टेप फिटनेसले मिशन बिर्तामोडको सहकार्यमा आगामी असोज १९ गते बिर्तामोडमा ‘मिस्टर झापा’ गर्न लागेको हो ।
आयोजक फस्ट स्टेप फिटनेसले आज पत्रकार सम्मेलन गरेर कार्यक्रमको तयारीबारे जानकारी दिएको हो । झापामा खेलाडी उत्पादन तथा खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘मिस्टर झापा’ प्रतियोगिता आयोजना गर्न लागिएको फष्ट स्टेप फिटनेसका अध्यक्ष सुवास मेचेले जानकारी दिए ।
प्रतियोगिताको ओभरअल च्याम्पियनले नगद १ लाख ५१ हजार र ट्रफी पाउनेछ । प्रतियोगितामा ५५, ६०, ६५, ७०, ७० केजीभन्दा बढी तौल समूहबाट प्रतिस्पर्धा गराइने छ । प्रत्येक तौल समूहमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँबाट पुरस्कृत गरिने अध्यक्ष मेचेले बताए ।
त्यस्तै ओभरअलमा दोस्रो, तेस्रो, चौथो र पाँचौ हुने खेलाडीलाई क्रमशः एक लाख एक हजार, ७६ हजार, ५१ हजार र ३६ हजार नगद पुरस्कारसहित ट्रफी प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।
प्रतियाेगितामा झापा जिल्लाका खेलाडीले मात्र सहभागिता जनाउन पाउने छन् भने प्रदेश, संघलगायतका प्रतिष्ठित प्रतियाेगितामा विजेता बनेका खेलाडी सहभागी हुन नपाउने प्रावधान राखिएकाे जनाइएकाे छ ।
प्रतियोगिता सम्पन्न गर्न अनुमानित १५ लाख खर्च हुने र स्थानीय सरकार, खेलप्रेमी, सामाजिक संघसंस्था, सामाजिक ब्यक्तित्वसँग सहकार्य गरेर प्रतियोगिता सम्पन्न गर्ने अध्यक्ष मेचेले बताएका छन् । यो प्रतियोगिता झापामा १७ वर्षअघि अर्थात २०६४ सालमा भएको थियो ।
त्यस प्रतियोगिताबाट अभिनेता तथा संस्थाका हालका अध्यक्ष सुवास मेचेले ‘मिस्टर झापा’ च्याम्पियनसीपको उपाधि जित्न सफल भएका थिए । त्यसपछि भने यो प्रतियोगिता हुन सकेको थिएन । पत्रकार सम्मेलनको सहजीकरण फस्ट स्टेप फिटनेसका सचिव माधवकुमार झाले गरेका थिए ।