अर्थ बजार

गिरीबन्धु टि-इस्टेटको जग्गामा सरकारको हक नलाग्ने सञ्चालकको दाबी

By admin

June 12, 2024

झापा । झापाको बिर्तामोडस्थित पूर्वपश्चिम राजमार्गमा रहेको गिरीबन्धु टी-इस्टेट प्रालिको जग्गा राज्यको सम्पत्ति नभएको सञ्चालकहरुले दाबी गरेका छन् ।

 

टी-इस्टेटको जग्गा गिरी परिवारको निजी भएका कारण त्यस जग्गामाथि सरकारको हक नलाग्ने सञ्चालकहरुले दाबी गरेका हुन् । टी-इस्टेटका सञ्चालक तथा निर्देशक छत्रबहादुर गिरीले सर्वोच्चको फैसलाबाट पनि गिरीबन्धु टि-इस्टेट राज्यको सम्पत्ति नभएको पुष्टि भएको बताए ।

 

सञ्चालकहरुले आज चारपानेस्थित पर्शुराम पार्टी प्यालेसमा पत्रकार सम्मेलन गरेर टी-इस्टेटको जग्गा सरकारको नभएको जिकिर गरेका हुन् । सञ्चालक तथा निर्देशक गिरीले आफ्नो निजी सम्पत्ति सरकारको भएजस्तो गरी सार्वजनिक भइरहेका प्रतिक्रिया र टिप्पणीप्रति कडा आपत्ति जनाए ।

 

उनले आफूहरूको निजी जग्गालाई सरकारीजस्तो गरेर सञ्चारमाध्यमले प्रचारप्रसार गरेको भन्दै तीव्र असन्तुष्टि व्यक्त गरेका छन् । भूमिसम्बन्धी ऐन हकबन्दी छुट भएका सबै उद्योगका लागि एउटै नियम भएको गिरीले बताएका छन् ।

 

गिरीले तीव्र शहरीकरणको चपेटामा परेको बिर्तामोड क्षेत्रमा चिया बगान राख्न नहुने जनाउँदै जसरी पनि चिया बगानलाई अर्को स्थानमा स्थानान्तरण गरेर गिरीबन्धुको जग्गालाई व्यवस्थित शहरीकरणको विकासका लागि प्रयोग गर्ने बताएका छन् ।

 

उनले आफ्नो निजी सम्पत्ति सरकारलाई चाहिए नगरपालिका वा मालपोत कार्यालयको मूल्याङ्कनका आधारमा बेच्न आफुहरु राजी रहेको जनाउँदै सर्वोच्च अदालतले गरेको फैसलाका आधारमा बगान स्थानान्तरणको सुनिश्चितता गर्न आफूहरू तयार भएको पनि बताए ।

 

२०२१ सालमा भूमिसम्बन्धी ऐन लागू हुनुअघि नै गिरीबन्धुले चिया खेती विस्तार गरेको सञ्चालक गिरीले बताए । हदबन्दी छुटमा ५ सय विघा जग्गा राख्ने अनुमति पाए पनि हाल गिरीबन्धुको नाममा ३९० विघामात्र जग्गा रहेको उनले बताए । उनले बिर्तामोड शहरी रुपमा विकास भइरहेकोले चिया बगान स्तान्तरण गर्न आवश्यक रहेको दाबी गरे ।

 

शहर बढेसँगै चिया बगानमा लागूऔषध प्रयोगकर्ता बढ्दै गएको र विभिन्न प्रकारका विषादी तथा मलखादका कारण मानव स्वास्थ्यमा गम्भीर समस्या हुने भएकाले पनि चिया बगान स्थानान्तरण गर्न आवश्यक रहेको उनले बताएका छन् ।

 

बढ्दो शहर बजारका कारण चिया बगान मासिँदै गएको र उद्योगले विर्षिक १ करोड १७ लाख रुपैयाँ घाटा ब्यहोरिरहेको उद्योगका निमित्त प्रबन्धक सन्तकुमार राईले जानकारी दिए । उनका अनुसार बगानमा दैनिकजसो २५ जनाभन्दा बढी लागूऔषध प्रयोगकर्ता आउने भएकाले असुरक्षासमेत बढेको छ ।

 

सर्वोच्च अदालतले हालैसालै गरेको फैसलालाई पालना गर्दै निकास खोज्ने काम भइरहेको अर्का सञ्चालक नविन गिरीले बताए । उनले एकैठाउँमा धेरै जग्गा पाउन गाह्रो हुने भएकाले विभिन्न व्यक्तिहरूसँगको सहकार्यमा जग्गा व्यवस्थापन गरिने उनले बताए ।

 

पत्रकार सम्मेलनमा सञ्चालक भरतलाल गिरी, प्रशान्त गिरी, श्याम गिरी, समिर गिरीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण सञ्चारकर्मी चन्द्रकान्त ढकालले गरेका थिए ।