अर्थ बजार

अर्जुनधारामा चैते धानबालीको २ लाख केजी बीज उत्पादन हुने

By admin

June 12, 2024

शनिश्चरे । कृषि विज्ञहरुको संयुक्त टोलीबाट गतवर्ष अर्जुनधारा नगरको विभिन्न क्षेत्रमा लगाइएको चैते धानबालीको बुधबार अनुगमन तथा निरीक्षण गरिएको छ ।

 

झापाको अर्जुनधारा ८ स्थित अर्जुनधारा नगर विकास बहुउद्देश्यीय सहकारी संस्थाले चैते धानबाली बीज वृद्धि कार्यक्रमअन्तर्गत अर्जुनधारा २, ४, ५, ७ र १० नम्बर वडाको एक सय हेक्टर क्षेत्रफलको जमिनमा चैते धानको मूल बीज चैते-५ र हर्दिनाथ-१ धान लगाएको थियो ।

 

संस्थाका अध्यक्ष प्रत्युस आजाद रानाका अनुसार सोही कार्यक्रमको लागि धानबाली कटाईअघिको निरीक्षण गरिएको हो । सबै बाली राम्रो भएको हुँदा आगामी वर्षको लागि एक लाख ५० हजार केजी उन्नत र ५० हजार प्रमाणित बीज उत्पादन हुने विश्वास लिइएको उनको भनाइ छ ।

 

बीज वृद्धि कार्यक्रमका लागि सहयोगी संस्थाहरु अर्जुनधारा नगरपालिकाअन्तर्गत कृषि विकास शाखाले ६० हेक्टर, जुटबाली अनुसन्धान कार्यक्रम इटहरीले २५ हेक्टर र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाई झापाले १५ हेक्टरको लागि धानको बीऊ तथा नगद उपलब्ध गराएको बताइएको छ ।

 

अनुगमन तथा निरीक्षण टोलीले अर्जुनधारा ४ र ७ का कृषकहरु केदार खड्का, लीलाबहादुर कटुवाल, रीतादेवी कार्की, मदनराज भट्टराईलगायतको धान बालीको अनुगमन तथा निरीक्षण गरेको थियो ।

 

टोलीमा जुटबाली अनुसन्धान कार्यक्रम प्रमुख सन्तोष त्रिपाठी, धान बाली विज्ञ सुजन कार्की, बीऊ विजन प्रयोगशाला झुम्काकी खडा बाली निरीक्षक फूलकुमारी चौधरी, कृषि विकास शाखा प्रमुख एञ्जिला बेडारी, संस्थाका सदस्य खेम काफ्ले लगायतको सहभागिता रहेको थियो ।