समाज

बाढीले ताप्लेजुङ फक्ताङलुङका ४ वटा पुल बगायो

By admin

June 13, 2024

ताप्लेजुङ । ताप्लेजुङमा गएराति वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिकाका विभिन्न ठाउँमा पुल बगाएको छ । बाढीले चार वटा  पुल बगाएको हो । ताप्लेजुङमा धेरैजसो क्षेत्रमा हिजो रातभर वर्षा भएको थियो ।

 

पुल बगाएपछि तमोर करिडोरअन्तर्गतको सदरमुकाम फुङलिङबाट तापेथोक-लेलेप जोड्ने सडक बन्द भएको छ । बाढीले फक्ताङलुङ गाउँपालिकामा पर्ने सिसवा खोला, तावा खोला र सिस्ने खोलामा रहेका पुल बगाएको स्थानीय सुसन लिम्बूले जानकारी दिएका छन् ।

 

तावा खोलामा रहेको बेलिब्रिज र काठबाट निर्मित मोटरेबल पुल बाढीले बाढीले बगाएको हो । बाढीले पुल बगाएपछि फक्ताङलुङ गाउँपालिकाको केन्द्र रहेको तापेथोकसहितका क्षेत्रमा सडक बन्द भएको छ ।

 

सिसावा खोलामा आज बिहान आएको बाढीले तमोर नदी केहीबेर थुनिएको थियो । अहिले नदीको पानी निकास भइरहेको छ । पानी थुनिएपछि तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन सूचना जारी गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए ।