समाज

झापामा चट्याङ लागेर मृत्यु हुनेको संख्या तीन पुग्यो

By admin

June 25, 2024

बिर्तामोड । झापामा चट्याङले लागेर एकैदिन तीन जनाको मृत्यु भएको छ । झापाका फरक-फरक स्थानमा चट्याङ्गले लागेर तीन जनाको मृत्यु भएको हो।

 

झापाको झापा गाउँपालिका वडा नम्बर ४ लोसाकी बस्ने ५० वर्षीय मन्जुर आलमको मृत्यु भएको हो । मंगलबार बिहान ९ बजे आफ्नो खेतमा आली लगाउँदै गरेका उनको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको आफन्तले जनाएका छन्।

 

यता मंगलबार नै बिहान ८ः४५ बजेको समयमा झापा गौरीगञ्ज गाउँपालिका ३ ठेकीटोलामा स्थानीय गौरादह नगरपालिका ८ बस्ने वर्ष ४२ का लीला भन्ने विकास गिरी खेतमा बिउँ उखेल्ने क्रममा चट्याङले लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

 

यसैगरी, मंगलबार बिहान कमल गाउँपालिका २ समइगढमा खेतमा ट्याक्टरले जोत्नेक्रममा खेतमा उभिइरहेको अवस्थामा चट्याङ लागेर स्थानीय ४६ वर्षीय राजन खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

 

खड्कालाई बिहान ७ बजे चट्याङले लागेर घाइते भएका थिए।उनलाई उपचारका लागि आम्दा अस्पताल दमक पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।