समाज

आज दिनभर पानी पर्ने सम्भावना, झापाको केचनामा अत्यधिक वर्षा

By admin

June 26, 2024

झापा । देशभर मनसुन थप सक्रिय भएको छ । मनसुनी वायुको आंशिक प्रभावका कारण आज देशका धेरै ठाउँमा दिनभर नै पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 

बागमती प्रदेश, कोशी प्रदेश र गण्डकी प्रदेशका केही ठाउँमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि ठूलो वर्षा भइरहेको छ । पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा सबैभन्दा धेरै झापाको केचनामा एक सय ५४ दशमलव ६ मिलिमिटर वर्षा भएको रेकर्ड छ । नेपाल रेडक्रस सोसाइटी झापाका अनुसार केचनापछि झापामा कनकाईमा अत्यधिक वर्षा भएको छ ।

 

गएरातिदेखि मनसुन थप सक्रिय भएको मौसमविदले बताएका छन् । नेपालमा पूर्वदेखि पश्चिमसम्मै ठाउँ-ठाउँमा वर्षा गराउने बादल विकसित भएको मौसमविद् सञ्जिव अधिकारीले बताए । उनका अनुसार आज काठमाण्डौ उपत्यकामा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

 

आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा दिनैभर मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 

महाशाखाले आउँदो २४ घण्टाका लागि चेतावनी जारी गर्दै कोशी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न सतर्कता अपनाउन भनेको छ ।