शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिकाअन्तर्गत पशुपंक्षी, मत्स्य विकास शाखाको आयोजनामा बिहीबार माछापालक व्यवसायीहरुसँग अन्तरक्रिया गरिएको छ ।
अर्जुनधारा-९ स्थित सुखानी शहीद स्मृति उद्यानको सभाहलमा शाखाले विगतमा सञ्चालन गरेको ब्लक र पकेट सञ्चालनको प्रभावकारितासँगै माछापालक व्यवसायीहरुमा रहेको समस्यासँगै समाधानको उपाय र आगामी रणनीतिबारे छलफल गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको शाखा प्रमुख पदमलाल राईले जानकारी दिए ।
त्यसैगरी उनीहरुलाई स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको मत्स्य विकाससम्बन्धी नीतिबारे जानकारी गराउनका लागि पनि कार्यक्रम महत्वपूर्ण भएको उनले दाबी गरे ।
नगरका ३० जना माछापालक व्यवसायीको सहभागिता रहेको कार्यक्रममा सहजकर्ताद्वय भेटनरी पशु सेवा विज्ञ केन्द्र भद्रपुरकी प्रमुख वरिष्ठ मत्स्य अधिकृत शितल भट्टराई र शाखा प्रमुख राईले सहभागीहरुको प्रश्नको जवाफ दिएका थिए ।
माछापालक कृषकको आर्थिक उपार्जन, व्यवसायीकरण, बजारीकरण, उनीहरुका समस्या र समाधान गर्दै कृषकलाई सम्बोधन गर्ने हेतुले दीगो विकासमा लैजानका लागि कार्यक्रम आयोजना गरिएको शाखा प्रमुख राईले बताए ।
नगर कार्यपालिका सदस्य एवम् आर्थिक समितिकी संयोजक गौरीमाया चिमरीयाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङ, उपप्रमुख खड्गमाया पराजुली, माछा व्यवसायी संघ अर्जुनधाराका अध्यक्ष युवराज पाण्डे, माछापालक कृषक डम्बर चौधरीलगायतले आफ्नो धारणा राखेका थिए ।
अर्जुनधारामा अहिलेसम्म ४४ जना कृषकले फर्म दर्ता गरेर व्यावसायिकरुपमा माछा पाल्दै आएका छन् । त्यस्तै, अन्य कृषकले पनि माछापालन गरिरहेको शाखाले जनाएको छ । गत आर्थिक वर्षमा मात्र यस क्षेत्रबाट २ लाख ४० हजार केजी माछा उत्पादन भएको थियो ।