शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिका ८ स्थित नारायण चोकमा आज साँझ भएको दुर्घटनामा परी दुई जना घाइते भएका छन् । शनिश्चरे-खुदुनाबारी सडक खण्डको नारायण चोकमा मोटरसाइकल र साइकल दुर्घटना भएको थियो ।
शनिश्चरेबाट खुदुनाबारीतर्फ जाँदै गरेको मे.३ प ९७८ नम्बरको मोटरसाइकलले साँझ ६ः३० बजे नारायण चोकमा साइकलयात्री अर्जुनधारा ७ का ३५ वर्षीय मनोज मण्डललाई ठक्कर दिएको यिो ।
दुर्घटनामा परी मोटरसाइकल चालक अर्जुनधारा ८ का तिलक रम्तेल र साइकल यात्री मण्डल घाइते भएका थिए । रम्तेलको टाउको र मुखमा र मण्डलको मुखमा चोट लागेको शनिश्चरे प्रहरी चौकीले जनाएको छ ।
बोल्न सक्ने अवस्थाका दुवै जनालाई स्थानीय शंकर अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि बिर्तामोड पठाइएको थियो । रम्तेलको टाउकोमा चोट लागेका कारण बिर्ता सिटी हस्पिटल र साइकल यात्री मण्डलको मनमोहन अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।