शिक्षा

झापाबाट ४ जीपीए ल्याउने एक्ली कुसिका

By admin

June 28, 2024

दमक । झापाबाट एकमात्रै विद्यार्थीले जीपीए ४ प्राप्त गरेकी छन् । बिहीबार सार्वजनिक भएको नतिजाअनुसार झापाको दमकस्थित सिद्धार्थ बोर्डिङ स्कुलकी छात्रा कुसिका बस्नेतले जीपीए ४ ल्याएकी हुन् ।

 

शिक्षा विकास तथा समन्वय इकाई झापाका अनुसार जीपीए ४ नतिजा ल्याउने बस्नेत जिल्लाकै एक्ली विद्यार्थी हुन् । बस्नेत सानैदेखि मेधावी विद्यार्थी रहेको स्कुल प्रशासनले जनाएको छ । कमल गाउँपालिका ५ पाडाजुँगीकी कुशिकाले सिद्धार्थमा कक्षा २ देखि अध्ययनरत रहेको पारिवारिक स्रोतले जनाएको छ ।

 

बुझ्ने भएदेखि नै ‘आफू एमबीबीएस पढ्छु’ भन्ने कुशिकालाई जसरी भए पनि चिकित्सा शिक्षा पढाउने बुवाआमाको इच्छा छ । २०६५ साउन ४ गते जन्मिएकी उनले एकपटक सेन्ट जेभियर्स कलेजमा प्रवेश परीक्षा दिने र नभए आफूले एसईई उत्तीर्ण गरेको सिद्धार्थमै पढ्ने बताइन् ।

 

शिक्षा विकास तथा समन्वय इकाई झापाका अनुसार झापामा कुल १५ हजार ५६२ विद्यार्थीले एसईई परीक्षा दिएका थिए । जसमा ७ सय ४६ विद्यार्थीले जीपीए ३ दशमलव ६० ल्याए । एकले मात्रै जीपीए ४ ल्याइन् । २ हजार ४५४ विद्यार्थीले जीपीए ३ दशमलव २० देखि ३ दशमलव ६० ल्याए ।

 

२ हजार ९७२ ले जीपीए २ दशमलव ८० देखि ३ दशमलव २० ल्याए । १ हजार १०३ जनाले जीपीए २ दशमलव ४० देखि २ दशमलव ८० ल्याए । ४५ जनाले जीपीए २ देखि २ दशमलव ४० ल्याए । ८ हजार १३७ जनाले एनए/एनजी ल्याए ।