समाज

फुङ्लिङका सब-इन्जिनियर हुसेन घुस लिएको आरोपमा पक्राउ

By admin

July 02, 2024

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका सब-इन्जिनियर अख्तर हुसेनलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ ।

 

सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस रकम लिएको आरोपमा हुसेनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो ।

 

सब-इन्जिनियर हुसेनविरुद्ध सेवाग्राहीले उजुरी दिएपछि अख्तियारको टोलीले सोमबार नियन्त्रणमा लिएको छ । सदरमुकाम फुङ्लिङ बजारस्थित कोठा भाडामा बस्दै आएका हुसेनलाई निवासबाटै अख्तियार टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

 

प्रहरीका अनुसार अख्तियार टोली हुसेनलाई नियन्त्रणमा लिई उनको कोठामा खानतलासी गरेको छ । खानतलासीको क्रममा एक लाख रुपैयाँभन्दा बढी रकम फेला परेको बताइएको छ ।

 

फुङ्लिङ २ याङ्लिजुङ टोलमा निर्माणाधीन रङ्गशालाका लागि विनियोजित ६ लाख ६४ हजार रुपैयाँको योजनामा निर्माण व्यवसायीबाट २० प्रतिशतले हुन आउने रकम लिएको हुसेनमाथि अभियोग लगाइएको छ ।

 

अख्तियारको टोलीले भने खानतलासीसहित सबै कार्य पूरागरी मुचुल्काको प्रक्रिया पूरा भएपछि मात्र घटना विवरणबारे आधिकारिक जानकारी दिने जनाएको छ । गोरखापत्रबाट