शिक्षा

अर्जुनधारामा अङ्ग्रेजी शिक्षकहरूको सम्मेलन

By admin

July 03, 2024

शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा अध्यापन गर्ने अङ्ग्रेजी शिक्षकहरूको प्रथम ऐतिहासिक सम्मेलन सोमबार अर्जुनधारा नगरपालिका को सभाहलमा सुरु भएको छ।

 

अर्जुनधारा नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको सहयोगमा अङ्ग्रेजी शिक्षकहरूको संस्था नेपाल अङ्ग्रेजी शिक्षक संघ (नेल्टा) झापाको आयोजनामा उक्त दुई दिने सम्मेलन सुरु भएको हो।

 

अङ्ग्रेजी भाषा शिक्षण गर्ने शिक्षकहरूको पेशागत दक्षता अभिवृद्धि गर्ने, वर्तमान अवस्थामा अङ्ग्रेजी शिक्षणमा आइपरेका चुनौतीहरू र यसका समाधानका उपायहरूको बारेमा खोजी गर्ने, कक्षा शिक्षणमा आधुनिक प्रविधिको प्रयोग गर्ने सीपको विकास गर्ने र नविनतम शिक्षण पद्धतिको अवलम्बन गर्ने उद्देश्यका साथ उक्त सम्मेलन आयोजना गरिएको नेल्टा झापाका अध्यक्ष प्रकाश पराजुलीले जानकारी गराए ।

 

दुई दिने उक्त सम्मेलनको उद्घाटन गर्दै अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमालले नेल्टाले आयोजना गरेको यस सम्मेलनबाट अर्जुनधारा नगर क्षेत्रभित्रका अङ्ग्रेजी अध्यापन गराउने शिक्षकहरूको लागि नयाँ आयाम थप्ने साथै शिक्षण कौशलमा अभिवृद्धि हुने कुरा बताए ।

 

प्रप्रअ रिमालले शिक्षकहरूको पेशागत दक्षता अभिवृद्धि गर्नका लागि आगामी बजेटमा नयाँ कार्यक्रमसहित बजेटको व्यवस्थापन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे। कार्यक्रममा नेल्टा कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष धर्मेन्द्र भट्टराईले शिक्षकको पेशागत विकास दक्षता तथा शिक्षण सीपको विकासमा नेल्टा झापाले गुणस्तरीय कार्यक्रम आयोजना गर्दै आइरहेको बताए ।

 

उनले आधुनिक शिक्षण शैली तथा शिक्षण कौशलको नयाँ तौर तरिका शिक्षकहरूमा हस्तान्तरण गर्नका लागि यस्ता प्रकृतिका कार्यक्रमहरू आयोजना गरिएको बताए। कार्यक्रममा शिक्षक महासङ्घ अर्जुनधाराका अध्यक्ष चन्द्र खत्री, प्याव्सन अर्जुनधाराका अध्यक्ष रुद्र सिटौला, शिक्षा युवा तथा खेलकुद शाखाकी अधिकृत सुनिता भट्टराईलगायतले शिक्षकहरूको पेशागत अभिवृद्धिका लागि नेल्टा झापाले खेलेको भूमिकाप्रति प्रशंसा गरे ।

 

अर्जुनधारा नगर क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूका ७० जनाभन्दा बढी अंग्रेजी शिक्षकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा स्वागत तथा कार्यक्रममाथि प्रकाश नेल्टाका कोशी प्रदेश वरिष्ठ उपाध्यक्ष धर्मेन्द्र भट्टराईले गरेका थिए भने कार्यक्रम सञ्चालन नेल्टाका जिल्ला सदस्य टेकनाथ शर्मा वाग्लेले गरेका थिए ।

 

कार्यक्रममा वरिष्ठ प्रशिक्षक रुद्रबहादुर थापा र जेनी राईले प्रशिक्षण दिएका थिए । उक्त सम्मेलन आज बुधबारसमेत सञ्चालन हुने र सम्मेलनले नगरस्तरीय अङ्ग्रेजी विषय शिक्षक सञ्जाल समेत गठन गर्ने कार्यक्रम रहेको छ।