समाज

शनिश्चरे अस्पतालमा शल्यक्रिया सेवा सुरु

By admin

July 04, 2024

अर्जुनधारा । झापाको अर्जुनधारामा रहेको शनिश्चरे अस्पतालमा शल्यक्रिया सेवा सुरु भएको छ । शल्यक्रिया सेवाको बिहीबार प्रतिनिधी सभाका सभामुख देवराज घिमिरेले उद्घाटन गरेका हुन् ।

 

नगर अस्पतालमा अत्याधुनिक उपकरण जडान भएसँगै सुविधासम्पन्न शल्यक्रिया सेवा सुरु भएको हो । गुणस्तरीय सेवा प्रदान गर्नका लागि दक्ष जनशक्ति र उपकरणको जडानसँगै सेवा सुरु गरिएको नगर प्रमुख बलदेबसिंह गोम्देनले जानकारी दिए ।

 

‘शल्यक्रियासहितको आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम तथा विस्तारित शल्यक्रिया सेवा’ सञ्चालन भएको छ । ‘शनिश्चरे अस्पतालमा अपरेसनसहितको सेवा सुरु भएपछि अकालमा कुनै आमाले मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ, उद्घाटनपछि सभामुख घिमिरेले भने, ‘सबै पक्षको सहयोग रह्यो भने अस्पतालले गुणस्तरीय सेवा प्रदान गर्न सक्छ ।’

 

बालबालिकाहरुलाई गर्भदेखि नै बाँच्न पाउने अधिकारका लागि पनि आधारभूत स्वास्थ्य सेवा उपलब्ध भएको उनको भनाइ छ । उनले आफ्नो तर्फबाट निरन्तर सहयोग जारी राख्ने प्रतिबद्धता जनाए ।

 

नगरप्रमुख गोम्देनले लामो समयको प्रयासपछि शल्यक्रिया सेवा सुरु गर्न सकेको बताए । उनले अर्जुनधाराका नागरिकलाई उच्च स्तरको स्वास्थ्य सेवा उपलब्ध गराउन नगरपालिका क्रियाशील रहेको बताए ।

 

उपकरण खरिदमा यस क्षेत्रका सांसदसमेत रहेका सभामुख घिमिरे र उनको सचिवालयले प्रभावकारी भूमिका निर्वाह गरेको भन्दै धन्यवाद दिए ।

 

उनले बिर्तामोडको बिएण्डसी र बिर्ता सिटी अस्पतालमा उपलब्ध रहेको स्तरीय उपकरण र जनशक्ति अब शनिश्चरे अस्पतालमा नै उपलब्ध भएको दाबी गरे ।

 

न्यून आर्थिक अवस्थाका नगरबासीलाई उपचारका लागि नगर तथा वडाबाट चन्दा उठाउन सिफारिस दिनुको साटो अब शनिश्चरे अस्पतालमा सबैखालको उपचार गर्न सक्ने प्रविधि र जनशक्ति उपलब्ध रहेको उनको भनाइ छ । उनले शनिश्चरे अस्पतालमा उपचारका लागि आउन सबैमा आग्रह पनि गरेका छन् ।