समाज

अर्जुनधारामा बसाइँ सरी आउने बर्सेनि बढ्दै

By admin

July 04, 2024

शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिकामा विभिन्न जिल्ला र पालिकाबाट बसाइँ सरेर आउने घरपरिवारको संख्या बर्सेनि बढ्दै आएको छ ।

 

चुरेको फेदीमा रहेको यस नगरपालिका कृषिमा आधारित छ । धार्मिक स्थलको रुपमा परिचित यस क्षेत्रको केही स्थान दुर्गम रहे पनि सुगम नगरपालिकाको रुपमा स्थापित हुने क्रममा रहेको छ ।

 

चालु आर्थिक वर्षको असार १९ गतेसम्म विभिन्न जिल्लाबाट ६०९ घरपरिवार बसाइँ सरी अर्जुनधाराका विभिन्न वडामा आएका छन् । गत आर्थिक वर्षमा ७३४ घरपरिवार बसाइँ आएको व्यक्तिगत घटना दर्ता शाखाले जनाएको छ ।

 

बसाइँ आउने घरपरिवारको तुलनामा बसाइँ जाने परिवारको संख्या आधा कम छ । चालु आर्थिक वर्षमा २८६ घरपरिवार बसाइँ गएको तथ्यांक छ । गत आर्थिक वर्षमा ३२९ घरपरिवार अर्जुनधाराबाट अन्यत्र बसाइँ गएको पाइन्छ । रोजगार, शिक्षालगायतका कारण बसाइँ जाने गरेका छन् ।

 

शाखाकी कर्मचारी समिता पराजुलीका अनुसार सुविधाको खोजी गर्दै विशेष गरेर इलाम, पाँचथर र ताप्लेजुङबाट बसाइँ आउनेको संख्या अधिक छ ।

 

यस्तै, छिमेकी पालिका बिर्तामोड, कनकाई, मेचीनगर र शिवसताक्षीबाट पनि बसाइँ आउने गरेको तथ्यांक छ । बिर्तामोडसँग जोडिएको यस पालिका आवासीय क्षेत्र मानिन्छ ।

 

राम्रो हावापानी, स्वास्थ्य, शिक्षा, बजारको सुविधा, जनघनत्व कम हुनुका साथै नजिकको पालिका व्यापारिक हिसाबले अघि बढिरहेको बेला अर्जुनधारामा बसाइँ आउनेको संख्या बढ्दै गएको बताइन्छ ।

 

यसैबीच, नगर क्षेत्रमा १२१ वटा नयाँ घरका लागि नक्सा पास भएको प्राविधिक शाखाले जनाएको छ । गतवर्ष १६५ वटा नक्सा पास भएको इन्जिनियर कमलराज पौडेलले जानकारी दिए ।