समाज

मौसमः आइतबारसम्म बाढीपहिरो र डुबानको जोखिम

By admin

July 05, 2024

झापा । देशका धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । लगातार र ठूलो पानी परेका ठाउँका नदी खोलामा बाढी आएको छ । दाङको कोइलाबासमा मध्यम वर्षा मापन भएको छ ।

 

सोही स्थानमा थप वर्षा हुन सक्ने सम्भावना रहेकोले त्यो क्षेत्र भइ बहने स-साना नदीमा आकस्मिक बाढीको जोखिम र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

 

पर्सि आइतबारसम्म देशभर हल्कादेखि ठूलो वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, मधेस र बागमती प्रदेशका थोरै ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।

 

मनसुन अझ सक्रिय हुने सम्भावना भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । पर्सिसम्म भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्न सक्ने महाशाखाले जानकारी गराएको छ ।

 

दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न महाशाखाले सबैसँग आग्रह गरेको छ ।