समाज

अर्जुनधाराका हात्तीपीडितलाई ११ लाख राहत प्रदान

By admin

July 05, 2024

शनिश्चरे । जंगली हात्तीको उपद्राेबाट आर्थिक तथा भौतिकरूपमा क्षति पुगेका हात्तीपीडित नगरबासीलाई झापाको अर्जुनधारा नगरपालिकाले करिब ११ लाख रुपैयाँ राहत प्रदान गरेको छ ।

 

नगरपालिकाका अनुसार यस आर्थिक वर्षमा ११ वटा वडामध्ये १० वटा वडामा जंगली हात्तीले क्षति पुर्याएको छ । नगरका १३४ घरपरिवार जंगली हात्तीबाट पीडित भएका छन् । पीडितलाई १० लाख ८९ हजार ५ सय रुपैयाँ राहत रकम उपलब्ध गराइएको छ ।

 

यस अवधिमा ५८ लाख ६४ हजारबराबरको जंगली हात्तीबाट क्षति पुगेको अनुमान गरिएको छ । सबैभन्दा बढी ४ नम्बर वडामा ५४ जना हात्तीबाट पीडित भएका छन् । नगरपालिकाले ४ लाख ३८ हजार रुपैयाँ यस वडाका हात्तीपीडितलाई राहत प्रदान गरेको प्रशासनका नासु सौजन कटुवालले जानकारी दिए ।

 

उनका अनुसार १ नम्बर वडामा २२ जना, २ नम्बरमा ३ जना, ३ नम्बर वडामा १८ जना, ५ नम्बरमा ७ जना, ६ नम्बरमा १ जना, ८ नम्बरमा १ जना, ९ नम्बरमा ७ जना, १० नम्बरमा १० जना र ११ नम्बर वडामा ११ जना हात्तीबाट पीडित भएका छन् । जंगली हात्तीले खाद्यान्न खाएर नष्ट गर्ने, बालीनाली नष्ट गर्ने, घरटहरा भत्काएर क्षति पुर्याएको छ । तर, मानवीय क्षति चाहिँ भएको छैन ।

 

नगरपालिकाले विपद् व्यवस्थापन सहायता शीर्षकमा पीडितहरुलाई राहत उपलब्ध गराउँदै आएको छ । क्षतिको अवस्था हेरेर न्यूनतम् १० हजारदेखि २५ हजारसम्म राहत रकम उपलब्ध गराउँदै आएको छ ।

 

नगरपालिकाले कार्यविधि नै खडा गरेर राहत रकम उपलब्ध गराउँदै आएको कटुवालले जानकारी दिए । उनका अनुसार जंगली जनावरको आक्रमण, आगलागी, चट्याङ, बाढीपहिरोजस्ता प्रकोपबाट ज्यान गुमेको खण्डमा नगद ४० हजार उपलब्ध गराउने व्यवस्था रहेको छ ।