अर्थ बजार

इलामका किसानले १८ सय मेट्रिकटन प्याज फलाए

By admin

July 05, 2024

इलाम । प्याजलाई व्यावसायिक ढङ्गले खेती गर्‍यो भने त्यसबाट राम्रो आम्दानी लिन सकिन्छ भन्ने उदाहरण इलामका किसानले देखाएका छन् । इलामका किसानले यसवर्ष १८ सय मेट्रिकटनभन्दा बढी प्याज उत्पादन गरेका छन् ।

 

व्यावसायिकरुपमा प्याज खेती गर्नेहरुले यो वर्ष इलाममा एक मनदेखि ६५ मनसम्म प्याज फलाएका छन् । ६५ मन प्याज उत्पादन गरेर बिक्री पनि गरिसकेका सन्दकपुर ३ सुलुबुङका किसान प्रकाश पराजुलीले यो वर्षको उत्पादन हेर्दा प्याजमा आत्मनिर्भर बनाउन सकिने रहेछ भन्ने लागेको बताए ।

 

‘यो वर्ष ६० मन प्याज प्रतिमन दुई हजार दुई सय रुपैयाँका दरले बिक्री गरें । घरमा राखेको र गाउँघर, छरछिमेक, आफन्तकातिर कोसेली पठाउन पाँच मन जति राखें’, पराजुलीले भने, ‘‘नयाँ हाइब्रिड जातको प्याज लगाउँदा त्यसको उत्पादन यो क्षेत्रमा राम्रो हुन्छ भन्ने देखियो ।’

 

२०६६ सालदेखि तरकारी खेती गर्दै आएका पराजुलीले यो वर्ष सन्दकपुर गाउँपालिकाको सहयोगमा आफ्नो ५० प्रतिशत लागतमा पीआइ १७२ जातको दुई सय ग्राम प्याजको बीउ लगाएको बताए ।

 

दुई सय ग्राम प्याजलाई साढे सात हजार रुपैयाँ खर्च भएको पराजुलीको भनाइ छ । लागत खर्च कटाउँदा पनि यो वर्ष प्याजबाट ९३ हजार चोखो आम्दानी भएको पराजुली बताउँछन् ।

 

त्यसोत यसवर्ष छरछिमेकमा पनि राम्रैसँग प्याज उत्पादन भएको उनी बताउँछन् । अन्य किसानहरु पनि पाँच सय ग्रामदेखि आठ सय ग्रामसम्मको एकै दाना प्याज फलाएको पाइएको पराजुलीले बताए । उनका छिमेकी विष्णु खनालले पनि यो वर्ष १९ मन प्याज फलाए ।

 

उता माइजोगमाईका किसान मोहन सुवेदीले पनि यो वर्ष चार मन प्याज फलाए । ७० रुपैयाँ प्रतिकिलोका दरले प्याज बिक्री गरेको सुवेदीले बताए । सुवेदीले भने, ‘प्याजमा मेहनत गर्ने हो भने यसको बजार र आम्दानी राम्रै हुने रहेछ भन्ने ठाउँमा हामी पुगेका छौं ।’

 

जिल्लामा ११५ हेक्टर जमिन क्षेत्रफलमा प्याज खेती हुने गरेको जिल्ला स्थित कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ । कार्यालयका अनुसार गएको वर्ष जिल्लामा एक हजार ८७४ मेट्रिकटन प्याज उत्पादन भएको छ । गत वर्षभन्दा यो वर्ष एक सय मेट्रिकटन बढी प्याज उत्पादन भएको कार्यालयका कृषि प्रसार अधिकृत जीवन ठाडामगरले बताए । गाेरखापत्रबाट