खेलकुद

झापा महिला फुटबलको फाइनलमा, भोजपुरसँग भिड्ने

By admin

July 08, 2024

बुइपा (खोटाङ) । भोजपुर र झापा जिल्ला यहाँ जारी कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् । आइतबार भएको दुई सेमिफाइनलतर्फ आ-आफ्नो खेलमा जित निकाल्दै भोजपुर र झापाले उपाधि भिडन्त पक्का गरेका हुन् ।

 

पहिलो सेमिफाइनलतर्फ भोजपुरले ओखलढुंगालाई २-० ले हरायो । भोजपुरको जितमा आशिका कार्की र सबिना तामाङले गोल गरिन् । खेलमा भोजपुरकै आरती भुजेल प्लेयर अफ द म्याच घोषित भइन् । उनले नगद २ हजार र मेडल हात पारिन् ।

 

त्यस्तै, दोस्रो सेमिफाइनल खेलमा झापाले ताप्लेजुङमाथि ६-० गोलको फराकिलो जित निकाल्यो । झापाका लागि सबै गोल दोहोरो ह्याट्रिकका साथ जेनिफर मगरले गरिन् । खेलमा मगर नै प्लेयर अफ द म्याच चुनिइन् । उनले पनि नगद २ हजार र मेडल हात पारिन् ।

 

असार २५ गते हुने फाइनलमा भोजपुर र झापा उपाधिका लागि भिड्नेछन् । प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेश, विराटनगरको आयोजना तथा जिल्ला खेलकुद विकास समिति खोटाङको संयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ ।