समाज

झापा: पैनी र खाेलामा डुबेर दुई जनाको मृत्यु

By admin

July 08, 2024

झापा । झापाको दुई छुट्टा छुट्टै स्थानको पैनी र खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिकाको एक पैनीमा डुबेर एकजना पुरुष र झापा गाउँपालिकाको खोलामा एक बालकको ज्यान गएको हो ।

 

आइतबार राति ९ः३० बजे बाह्रदशी गाउँपालिका २ स्थित राजगढका ६५ वर्षीय मोहन राजवंशीको स्थानीय पैनीमा डुबेर मृत्यु भएको हो । डुबेको अबस्थामा फेला पारी स्थानीयले मृतकको शव पैनीबाट बाहिर निकालेका थिए ।

 

शवनजिकै साइकलसमेत फेला परेको थियो । थप अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गरि शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।

 

यसैगरी, झापा गाउँपालिका २ मा रहेको सानो माइखोलामा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका २ सडकवाडी गाउँस्थित मुस्लिम बस्ती बस्ने रहमान आलमका अढाई वर्षका छोरा दिलसाद आलम रहेका छन् ।

 

घर अगाडि रहेको सानो माइखोलामा डुबेर आज बिहान ११ बजे ती बालकको मृत्यु भएको हो । आफन्तका अनुसार बालकको शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।