खेलकुद

झापा बन्यो प्रदेशस्तरीय महिला फुटबल च्याम्पियन

By admin

July 09, 2024

बुइपा (खोटाङ) । यहाँ जारी कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि झापाले चुमेको छ । आज भएको फाइनल खेलमा भोजपुरको महिला टिमलाई पराजित गर्दै झापा च्याम्पियन बनेको हो ।

 

प्रतिस्पर्धात्मक खेलमा झापाले १-० गोलअन्तरले भोजपुरलाई फाइनलमा रोक्दै उपाधिमाथि कब्जा जमाएको हो । जसमा झापाकी जेनिफर मगरले दोस्रो हाफको १५औँ मिनेटमा निर्णायक गोल गरेकी थिइन् ।

 

फाइनल खेलको वुमन अफ दी म्याच झापाकी कप्तान खुस्मा राई घोषित भइन् । उनले नगद २ हजार प्राप्त गरिन् । बेस्ट गोलकिपर झापाकै जसोदा लिम्बू भइन् भने बेस्ट डिफेन्डर भोजपुरकी कमला श्रेष्ठ भइन् ।

 

यसैगरी, सर्वाधिक गोलकर्ता झापाकी जेनिफर मगर भइन् । उनले ९ गोल गरेकी थिइन् । झापाकी सिमरन राई बेस्ट मिडफिल्डर भइन् । यस्तै, भोजपुरकी कप्तान आरती भुजेल बेस्ट फरवार्ड भइन् ।

 

प्रतियोगिताको बेस्ट कोच झापाका सन्त रायामाझी बनेका छन् भने राइजिङ प्लेयर खोटाङकी गोलरक्षक रिया राई घोषित भइन् । उनीहरुले जनही ३-३ हजार पाए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी झापाकी जेनिफर मगर भइन् । उनले नगद ३५ हजार र ट्रफी पाइन् ।

 

प्रदेशस्तरीय च्याम्पियन बनेको झापाली टोलीले उपाधिसहित नगद २ लाख र उपविजेता भोजपुरले १ लाखमा चित्त बुझाएको छ । प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेश विराटनगरको आयोजना तथा जिल्ला खेलकुद विकास समिति खोटाङको संयोजनमा प्रतियोगिता सञ्चालन भएको थियो ।