समाज

इलाममा गजराजसिंह थापा सामुदायिक पुस्तकालय

By admin

July 10, 2024

इलाम । इलाम सदरमुकाममा रहेको अरनिको सांस्कृतिक सङ्ग्रहालयमा गजराजसिंह थापा सामुदायिक पुस्तकालयको स्थापना भएको छ। पुस्तकालयको मंगलबार एक कार्यक्रममा इलाम नगर प्रमुख केदार थापाले उद्घाटन गरे ।

 

२०७८ मा अरनिको सांस्कृतिक सङ्ग्रहालयका रूपमा सञ्चालनमा ल्याइएको सङ्ग्रहालयमा ऐतिहासिक महत्त्वका तथा पुराना सामग्रीहरू सङ्गृहित गरिएको छ।

 

इलाम भित्रने पर्यटकलाई आकर्षणको केन्द्र बनाउन सुरु गरिएको सङ्ग्रहालयभित्रै पुस्तकालय समेत स्थापना गरिएको साहित्य कला सङ्गीत प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङले जानकारी दिए । यो भवनमा तत्कालीन वडा हाकिम गजराज सिंह थापाले प्रशासन सञ्चालन गरेको इतिहास छ।

 

इलामबाटै नेपाली चिया रोपण सुरु गराउने पहिलो व्यक्ति गजराजसिंहको सम्झनामा पुस्तकालय स्थापना गरिएको प्रतिष्ठानका अध्यक्ष थाम्सुहाङले बताए। सङ्ग्रहालयमा पुर्खाले प्रयोग गरेका प्रशासनिक तथा घरेलु सामग्री, कृषि सामग्री, हस्तकला, विभिन्न जातीय संस्कृति, पोसाक, ढिकी, जाँतो, तेल पेल्ने कोल, पञ्चे बाजा, पुर्खाहरूले प्रयोग गरेका पैसालगायतका सामग्री छन्।

 

पुस्तकालयमा विभिन्न दाताले उपलब्ध गराएका नेपाली साहित्यका महत्त्वपूर्ण कृतिहरू अन्य विभिन्न पठन योग्य सामग्री रहेका छन्। इलाममा पठन संस्कृतिको विकास गर्न जरुरी रहेकाले पनि यो पुस्तकालय सञ्चालनमा ल्याइएको थाम्सुहाङ बताउँछन् । गोरखापत्रबाट