खेलकुद

हेटौंटाका सोम लामालाई स्नुकर नेपाल मास्टर्सको उपाधि

By admin

July 11, 2024

बिर्तामोड । स्नुकर नेपाल मास्टर्सको उपाधि हेटौंडाका सोम लामाले जितेका छन् । बिर्तामोड स्नुकरको आयोजनामा गत असार १५ गतेदेखि शुरु भएको राष्ट्रियस्तरको स्नुकरको उपाधि लामाले हात पारेका हुन् ।

 

प्रतियोगिताको उपाधिसँगै लामाले नगद २ लाख रुपैयाँसहित ट्रफी हात पारे । बिर्तामोडमा आज (बिहीबार) भएको फाइनल खेल पछिको पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका सामाजिक विकास राज्यमन्त्री सिर्जना राईले लामासहित विजेता खेलाडीहरुलाई नगद र ट्रफी प्रदान गरिन् ।

 

स्नुकर नेपाल मास्टर्स प्रतियोगितामा काभ्रेका वाङ्चु आले तामाङ उपविजेतासँगै हाइयसब्रेकर भए । उनले द्वितीय पुरस्कार ८० हजार र हाइयस ब्रेकरको पुरस्कार ५० हजार नगद र ट्रफी प्राप्त गरे ।

 

त्यस्तै, सेमिफाइनलिस्ट बुटबलका रेगन श्रेष्ठ र पोखराका सोम विश्वकर्माले नगद २०÷२० हजार पुरस्कार पाए । बिर्तामोड स्नुकरका सञ्चालक खेम बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि राज्य मन्त्री राईले नेपालमा पहिलो पटक ठूलो पुरस्कार राशिको स्नुकर खेल हुनुले प्रदेशकै गौरव बढेको बताइन् ।

 

कार्यक्रममा बिर्तामोड क्षेत्रमा स्नुकर खेल भित्र्याउने सञ्जय राई, स्नुकर भेट्रान खेलाडी चित्रप्रकाश राई, रेजिना पाण्डे, बिर्तामोड खेलकुद विकास समितिका सदस्य विशाल अग्रवाललगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन बिर्तामोड स्नुकरकी आशा गुरुङले गरेकी थिइन् ।

 

प्रतियोगितामा नेपालका टप १६ राष्ट्रिय स्नुकर खेलाडीेसहित कोशी प्रदेशका ८ जना र स्थानीय ८ जना गरी ३२ जना खेलाडीको सहभागिता रहेको थियो ।