झापा । झापामा सवारी दुर्घटना घटेको तथ्यांकले देखाएको छ । तीन वर्षको सवारी दुर्घटनाको विवरणलाई हेर्दा आर्थिक वर्ष २०८०/०८१ मा सवारी दुर्घटनाको दर र मानवीय क्षति घटेको हो ।
आर्थिक वर्ष २०७८/०७९मा ६११ , २०७९/०८० मा ८०४ र २०८०/०८१ मा ५९३ वटा सवारी दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । अघिल्लो वर्षको तुलनामा २०८०/०८१ मा सवारी दुर्घटना २६.२४ प्रतिशतले घटेको हो ।
दुर्घटनाको संख्यासंगै मानवीय क्षति पनि घटेको छ । २०७८/०७९ मा ९६ पुरुष , १५ महिला र ५ बालबालिका गरी जम्मा ११६ जनाको मृत्यु भएको थियो भने २०७९/०८० मा ८२ पुरुष , २४ महिला र ८ बालबालिका गरी ११४ जनाले दुर्घटनमा ज्यान गुमाएका थिए ।
तर, आर्थिक वर्ष २०८०/०८१ मा ७१ पुरुष , १० महिला र ६ बालबालिका गरी ८७ जनाको सवारी दुर्घटनामा मृत्यु भएको विवरणमा उल्लेख छ । जुन अघिल्लो वर्षको तुलनामा २३.६८ प्रतिशतले कम हो । यसैगरी, घाइते हुनेको संख्यामा पनि कमी आएको छ ।