ताप्लेजुङ । जिल्लाको फक्ताङलुङ गाउँपालिकाको आवासीय क्षेत्रमा पहिरोले क्षति भएको छ । गएराति वर्षासँगै खसेको पहिरोले गाउँपालिकाको सभाकक्षसहित आवासीय क्षेत्रमा क्षति भएको हो ।
अविरल वर्षासँगै राति २ बजे गएको पहिरोले फक्ताङलुङ गाउँपालिकाको भवनसँगै रहेको घरमा क्षति भएको फक्ताङलुङका अध्यक्ष राजन लिम्बूले जानकारी दिए ।
गाउँपालिका कार्यालयसँगैको सुवास लिम्बूको घर तथा होटल पूर्णरूपमा क्षति भएको छ । पार्किङ गरिएका गाउँपालिकाका गाडी र मोटरसाइकल पुरिएको गाउँपालिका अध्यक्ष लिम्बूले बताए ।
अध्यक्ष लिम्बूका अनुसारराति १२ बजेदेखि नै सामान्य पहिरो सुरु भए पनि ठूलो पहिरो राति २ बजे गएको थियो । स्थानीय बासिन्दा समयमै सुरक्षित क्षेत्रमा जान सफल भएकाले मानवीय क्षति हुन पाएन ।
बाढीले बिजुलीको पोल बगाएको, पशुचौपाया पहिरोमा परेको तथा क्षतिको विवरण सङ्कलन हुन बाँकी रहेको तापेथोक प्रहरी चौकीले जनाएको छ ।
चौकी प्रमुख सुरेश सिंजालीका अनुसार चौकी पनि उच्च जोखिममा छ । पहिरोसँगै नजिकबाट बग्ने तमोरमा पानीको तह बढ्दै गएकाले बाढीको जोखिम पनि उत्तिकै छ ।