समाज

झापामा पिकअपसहित ५२ क्युफिट चिरान काठ बरामद

By admin

July 20, 2024

झापा । इलाम र झापा भएर बग्ने कन्काई नदीमा काठ तस्करी बढेको छ । उत्तरतिरबाट चोरी तस्करी गरी खोलामा काठ बगाएर ल्याउने क्रम बढेको हो ।

 

१९ क्युफिट चिरान काठ फेला परेको भोलिपल्ट आज बिहान फेरि पिकअप गाडीसहित अवैध सखुवा जातको चिरान काठ बरामद भएको छ ।

 

बिहान अन्दाजी ३ः३० बजेको समयमा अस्थायी प्रहरी चौकी माइधारको प्रहरी टोली र गैँडे सामुदायिक वन उपभोक्ता समितिको संयुक्त टोलीले गस्ती गर्दै जाने क्रममा शिवसताक्षी १० टेक्रास्थित कन्काई नदी बगरमा मे. १ च ६२३६ नम्बरको पिकअप भ्यानमा सखुवा जातको ५२ क्युफिट चिरान काठ (फान्टा) बरामद भएको हो ।

 

अन्दाजी १ लाख ५६ हजार मूल्यबराबरको काठ लोड गर्दै गरेको अवस्थामा प्रहरीलाई देखेर गाडी र काठ छाडेर फरार भएका थिए । गाडीसहित उक्त काठलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि गैँडे सामुदायिक वन उपभोक्ता समितिलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।