समाज

श्रावणी पर्वः अर्जुनधारा जलेश्वरधाममा भक्तजनको घुइँचो

By admin

July 22, 2024

शनिश्चरे । सौरमासअनुसार श्रावण महिनाको पहिलो सोमबारको व्रत आजदेखि शुुरु भएको छ । साउन ७ गते सोमबार सौर र चान्द्रमास दुवैअनुसार पहिलो सोमबार परेको हो ।

 

गुरु पूर्णिमादेखि जनै पूर्णिमासम्मका सोमबार व्रत लिनुपर्ने कुरा निर्णय सिन्धुलगायत ग्रन्थमा उल्लेख छ । श्रावण महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको बार मानिन्छ । श्रावण महिनाको सोमबार हिन्दू महिलाले व्रत बस्ने परम्परा रहेको छ ।

 

श्रावणी पर्वको अवसरमा झापाको अर्जुनधारा जलेश्वरधामसहित देशभरका शिवालयहरूमा भक्तजनहरूको भिड लागेको छ। साउने सोमबारका दिन पूजा-आराधना र अर्चना गर्नाले मनोकामना सिद्ध हुने हिन्दू धर्मावलम्बीहरूको विश्वास रहिआएको छ।

 

हरिशयनी एकादशी अर्थात् आषाढ शुक्ल एकादशीमा भगवान् विष्णु क्षीर सागरमा सुतेपछि हरिबोधिनी एकादशीसम्म भगवान् शिवले सृष्टि सञ्चालनको जिम्मा लिने कथन छ।

 

सूर्य दक्षिणायनपछि विशेष चाडपर्वको सुरुवातको संकेत गर्ने पूर्वीय संस्कृतिमा साउने सोमबारलाई विशेष महत्व दिएको पाइन्छ। सोमबारको व्रत लिएका भक्तजनहरु जल चढाउनका लागि छिमेकी पालिकादेखि अन्य जिल्लाबाट पनि आएका छन् ।