बिर्तामोड । बिर्तामोड नगरपालिकाले ‘पारीको होइन बारीको खाऊँ’ भन्ने मुख्य नाराका साथ सञ्चालनमा ल्याएको सामुदायिक तरकारी बिक्री केन्द्रको उद्घाटन गरिएको छ ।
आज सोमबार एक कार्यक्रमको आयोजना गर्दै वडा नम्बर ५ स्थित तमु टोलमा सुरु गरिएको तमु टोल सामुदायिक तरकारी बिक्री केन्द्रको नगरकी कार्यवाहक नगर प्रमुख सीता ढुंगानाले उद्घाटन गरिन् ।
नगरपालिकाले ५ वटा तरकारी बिक्री केन्द्र, ४ वटा संकलन तथा बिक्री केन्द्र र एउटा मुख्य संकलन तथा बिक्री केन्द्र स्थापना गरेको छ । वडा नम्बर १ मा अतिथि सदन, वडा नम्बर ३ मा बिर्ताबजार, वडा नम्बर ४ मा सुलभ टोल, वडा नम्बर ५ मा तमु टोल र पाथिभरा बालाजी सामुदायिक तरकारी बिक्री केन्द्र स्थापना गरिएको छ ।
यस्तै बुट्टाबारी, गरामनी, चारपाने र सैनिकबजारमा संकलन तथा बिक्री केन्द्र र कृषिथोक बजारमा मुख्य संकलन तथा बिक्री केन्द्र स्थापना गरिएको छ। विषादीरहित खानयोग्य तरकारीमात्रै बिक्री गरिने कृषि शाखाले जनाएको छ ।
नगरका कृषि शाखा प्रमुख राजेन्द्र कडरियाले स्थानीय कृषिजन्य वस्तुको बजारीकरण, विषादी न्यूनीकरण र अन्य कृषि बजारको तुलनामा सुलभ मूल्य नै तरकारी बिक्री तथा संकलन केन्द्रको विशेषता रहेको जानकारी दिए ।