समाज

एसियन हाइ-वेमा परेका बिर्तामोडका संरचना भत्किने

By admin

July 23, 2024

झापा । निर्माणाधिन पूर्वपश्चिम एसियन हाइ-वे (राजमार्ग)मा परेका बिर्तामोडका धेरै संरचना भत्किने भएका छन् । मुक्तिचोकमा रहेको बिर्तामोडको दुर्गा मन्दिर पूरै भत्किने भएको छ ।

 

यसैगरी, ट्राफिक प्रहरी कार्यालयको पुरानो भवन र धेरै घरका अगाडिको भाग पर्ने भएको छ । बीच सडकदेखि २५-२५ मिटर दायाँ बायाँभित्र सडकसीमा मिचेर बनाइएका संरचनाहरु अब केही महिनापछि हटाइने भएको हो । सडकको सीमा क्लियर गर्ने क्रममा रुख कटान गरिसकेकाले अब अन्य संरचना हटाइने एशियाली विकास बैंक आयोजना दमकका योजना प्रमुख सुनिलबाबु पन्तले बताए ।

 

पहिले गरिएको सुपरीवेक्षणलाई फेरि भेरिफाई गरेर प्रक्रियागत ढंगले सडक सीमाभित्र परेका संरचनाहरु हटाइने आयोजना प्रमुख पन्तले बताए । उनले त्यसका लागि जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरिने जानकारी दिए । घरको बरन्डा र लाछीहरु परे पनि ठूला संरचना कुनै पनि नपरेको बताउँदै पन्तले सडक निर्माणमा खासै अवरोध नआउने जनाए ।

 

योजना प्रमुख पन्तले काँकरभिट्टा-सितापुरी पूर्वी खण्डको ४५ किलोमिटर क्षेत्रमा वर्षाका कारण अहिले खासै काम नभइरहेको जानकारी दिए । सडक किनारमा रहेका सबै चार हजार ७३० रुख कटान गरिसकिएको छ ।

 

त्यसैगरी पुल र कल्भर्ट निर्माण कार्य जारी छ । दुई लेनको सडकलाई चार लेनमा रुपान्तरण गर्ने उद्देश्यअनुरुप सो सडकखण्डमा १४० वटा कल्भर्ट र २१ वटा पुल निर्माण हुने बताइएको छ ।

 

एसियन हाइ-वे (राजमार्ग) निर्माणका लागि काँकरभिट्टा-सितापुरी पूर्वी खण्ड र सितापुरी-मावा खोलालाई पश्चिम खण्डमा विभाजन गरिएको छ । पूर्वी खण्डको ठेक्का एभ्रासकन कालिका जेभीले पाएको छ ।

 

एसियाली विकास बैंकको सहयोगमा निर्माण सुरु भएको काँकरभिट्टादेखि केर्खासम्मको सडक करिब १० अर्बको लगानीमा सम्पन्न हुने गरी ठेक्का सम्झौता भएको छ । काँकरभिट्टा-लौकहीसम्मको ९६ किलोमिटर सडक पूर्वी र पश्चिम खण्ड गरी दुई भागमा विभाजन गरी निर्माण भइरहेको छ ।