समाज

जहाज दुर्घटनाका मृतकको पोस्टमार्टम सुरू

By admin

July 24, 2024

काठमाडौं । सौर्य एयरको जहाज दुर्घटना हुँदा मृत्यु भएका १८ जनाको पोस्टमार्टम सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल स्रोतका अनुसार पोस्टमार्टममा संलग्न सबै प्राविधिक जनशक्ति अस्पताल आएपछि सुरू गरिएको हाे ।

 

फिंगर प्रिन्ट टोली, डीएनए टोली सबै टोली आएपछि र एयरलाइन्सको प्रतिनिधि आएपछि पोस्टमार्टम सुरु गरिएको छ । सबै शवको पोस्टमार्टम गरेर तीन दिनपछि मात्र आफन्तलाई शव जिम्मा लगाउन सकिने अस्पतालका एक अधिकारीले जानकारी दिए ।

 

त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभाग प्रमुख डा गोपाल चौधरीका अनुसार पोस्टमार्टमका लागि तीन टोली खटिएका छन् । डा चौधरीका अनुसार पोस्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भक्तपुर अस्पतालका चिकित्सक खटिएका छन् ।

 

बुधबार बिहान ११ बजेर ११ मिनेट जाँदा त्रिभुवन विमानस्थलबाट पोखरा जान लागेको सौर्य एयरको जहाज उड्नेवित्तिकै आगलागी हुँदा १८ जनाको मृत्यु भएको छ भने पाइलट मनिष शाक्य घाइते भएका छन् ।

 

मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियाे भने पाइलट शाक्यको सिनामंगलस्थित केएमसी शिक्षण अस्पतालमा उपचार भइरहेको छ । क्याप्टेन शाक्यलाई दुर्घटनास्थलबाट नेपाली सेना र नेपाल प्रहरीको टोलीले उद्धार गरेर अस्पताल पठाएका थिए ।

 

मर्मतका लागि पोखरा लैजान लागिएको जहाजमा सौर्य एयरलाइन्सका कर्मचारीसहित १८ जना यात्रु र पाइलट मनिष शाक्य गरी १९ जना थिए ।