समाज

स्थानीयद्वारा बिर्तामोड-चन्द्रगढी सडक बन्द

By admin

July 25, 2024

झापा । बिर्तामोड-चन्द्रगढी सडकखण्ड निर्माणमा ढिलासुस्ती भएको भन्दै स्थानीयहरुले बिर्तामोड ८ देउनियामा सडक अवरोध गरेका छन् ।

 

बुधबार बिहान सवा ९ बजेदेखि बिर्तामोड-चन्द्रगढी सडकखण्डमा बाँस र ढुङ्गा राखेर उनीहरुले सडक अवरुद्ध शुरु गरेका थिए । हिजो दिउँसो ४ बजेदेखि प्रहरीले अवरोध हटाएकोमा आज विहानदेखि स्थानीयहरुले फेरि अवरोध गरी सवारीसाधन चल्न दिएका छैनन् ।

 

सडक निर्माणको कार्यमा ढिलासुस्ती भएको, धुँवा धुलोले दैनिक जीवनयापन कष्टकर भएको भन्दै बिर्तामोड ८ का वडाध्यक्ष अजय कार्कीको नेतृत्वमा स्थानीयहरुले चक्काजाम गरेका हुन् । सडक निर्माण नभएसम्म चक्काजाम जारी रहने वडाध्यक्ष कार्कीले बताए ।

 

यसैबीच सडक डिभिजन कार्यालय दमकले राष्ट्रिय राजमार्ग यसरी बन्द हुनु गंभीर विषय भएको बताएको छ । यसको शिघ्र समाधान गर्न आवश्यक रहेको भन्दै सरोकारवाला पक्षसंग आज छलफल गर्नका लागि निर्माण कम्पनी काठमाडौंको कन्टेक प्रालिलाई पत्र पठाइएको डिभिजन प्रमुख सुरेश पौडेलले जानकारी दिए । तर, छलफलका लागि आफूहरुलाई पत्र नआएकोले बाटो बन्द यथावत रहने वडाध्यक्ष पौडेलले बताए ।

 

चार लेनको सडक निर्माणमा ढिलासुस्ती हुँदा हिउँदमा धुलो र अहिले वर्षायाममा हिलाम्मे सडक कारण जनताले सास्ती झेल्दै आइरहेका छन्। सो सडकअन्तर्गत भद्रपुरको देउनियाँ पुलदेखि लेखनाथ चोकहुँदै भैरव चोकसम्म चार लेनको सडकको ठेक्का लागे पनि अझै काम सुरु भएको छैन।

 

सो सडक निर्माणको ठेक्का काठमाडौंको कन्टेक प्रालिले करिब ६० करोड रुपैयाँमा लिएको हो। २०७७ माघ ६ गते ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले ३० महिनामा काम सम्पन्न गर्नुपर्ने सम्झौता रहेको थियो।

 

सो अवधिमा कम्पनीले बिर्तामोडदेखि देउनियासम्मको सडक खण्ड पनि निर्माण सम्पन्न गर्न सकेको छैन । दुई पटक म्याद थप गरिसकेका निर्माण कम्पनीले ४० प्रतिशत मात्र काम सम्पन्न गरेको सडक डिभिजन कार्यालय दमकका प्रमुख पौडेलले बताए।