समाज

हेल्मेटमा लुकाएर ब्राउनसुगर ल्याउने एकजना पक्राउ

By admin

July 25, 2024

झापा । मोटरसाइकलको हेल्मेटभित्र प्रतिबन्धित लागूऔषध ब्राउनसुगर लुकाएर ल्याउँदै गरेको अवस्थामा पुरानो मेची पुलबाट एकजना पक्राउ परेका छन् ।

 

बुधबार साँझ ६ बजेतिर मेचीनगर ६ स्थित पुरानो मेची पुलबाट पक्राउ पर्नेमा कमल गाँउपालिका वडा नम्बर ४ बस्ने ४१ वर्षीय धनबहादुर लिम्बू रहेका छन् ।

 

लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदैं गरेको बा. ५३ प १२४५ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा लिम्बूको साथबाट प्लाष्टिकमा पोका पारी हेल्मेटभित्र लुकाई ल्याउँदै गरेको २ ग्राम १९० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

 

पक्राउ परेका लिम्बू र मोटरसाइकल इलाका प्रहरी कार्यालय काकरभिट्टामा राखी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।