कला

रहेनन् लोक गायक एलपी जोशी

By admin

July 26, 2024

झापा । पूर्वका चर्चित लोक गायक एलपी जोशीको निधन भएको छ । आज राति ८ः३० बजे दमकस्थित लाइफलाइन हस्पिटलमा जोशीको ८८ वर्षको उमेरमा निधन भएको हो ।

 

दमक १ निवासी जोशीले ‘रिटिङ रिटिङ नबजाउ बिनायो’, ‘वल्लो खोलो पल्लो खोलो’, जस्ता चर्चित लोक गीत गाएका थिए । एलपी जोशीको पूरा नाम लक्ष्मीप्रसाद जोशी हो ।

 

उनी नेपाली लोकगीत क्षेत्रमा पूर्वेली लोकगीतका एक लोकप्रिय गायक कलाकार हुन् । उनले आफै संकलन गरेर रेडियो नेपालमा गाएका गीतहरु कालजयी भएका छन् ।

 

विसं १९९३ सालमा धनकुटा ६ बीचबजारमा जन्मिएका जोशीले जीवनभर लोकसंस्कृतिको क्षेत्रमा योगदान पुर्‍याएका थिए । जोशीका रेडियो नेपालमा रेकर्ड ४५ मध्ये अधिकांश गीत अझै पनि सर्वसाधारणले गुनगुनाउने गर्छन् । उनले २०१३ सालमा पहिलो गीत रेकर्ड गराएका थिए ।

 

जोशीको दाहसंस्कार झापाको कन्काइ माइमा शुक्रबार ११ बजे गरिने जनाइएको छ । उनी छोरा मिलन र परिवारका सदस्यका साथ दमकमा रहेका थिए ।