झापा । लागूऔषध ब्राउन सुगरसहित मेचीनगरका दुई युवा पक्राउ परेका छन् । आज बिहान ९ः४५ बजे मेचीनगर ६ स्थित पुरानो मेची पुलबाट उनीहरु पक्राउ परेका हुन् ।
लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका मेचीनगर ७ का २८ वर्षीय झकबहादुर खड्कालाई शंका लागेर चेकजाँच गर्दा प्लाष्टिकले पोका पारेर बाँया हातको हत्केलामा मुठ्ठी पारी लुकाई राखेको ५ ग्राम ५७० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।
उनलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उक्त ब्राउनसुगर मेचीनगर ७ बस्ने ३० वर्षीय खडगबहादुर दर्जीले भारतबाट खरिद गरि काँकरभिट्टासम्म पुर्याइदिनु भनी पठाएको प्रहरीले जनाएको छ ।
खोजतलास गर्ने क्रममा मे. २ प ८५४१ नम्बरको मोटरसाइकलमा आउँदै गर्दा दर्जीलाई समेत नियन्त्रणमा लिई दुवैलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।