समाज

पूर्वफुटबलर राईको अन्त्येष्टिमा शुभचिन्तकको बाक्लो उपस्थिति

By admin

July 30, 2024

झापा । हृदयघातका कारण निधन भएका पूर्वराष्ट्रिय फुटबल खेलाडी गम्भीर राईको आज अन्त्येष्टि गरिएको छ । आज बिहान हल्दिबारी गाउँपालिकास्थित भेलागुडी वनमा किरात संस्कारअनुसार उनको अन्त्येष्टि गरिएको हो ।

 

अन्त्येष्टिमा कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राई, महासचिव भगिरथ आले मामा, फिफा रेफ्री श्याम दनुवार, कोशी प्रदेश फुटबल रेफ्री संघका महासचिव प्रदिप बस्नेत लगायत फुटबलसँग सम्वद्ध व्यक्ति तथा खेलाडीहरुको उपस्थिति रहेको थियो ।

 

त्यस्तै, भद्रपुर तथा आसपासका उनका शुभचिन्तकहरुले राईको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका थिए । उनको बिएन्डसी अस्पताल बिर्तामोडमा आइतबार साँझ निधन भएको थियो ।

 

उनी फुटबल संघको पूर्वउपाध्यक्ष पनि हुन् । भद्रपुर १० चन्द्रगढी बजार निवासी ५६ वर्षीय उनको उपचारको क्रममा निधन भएको थियो ।