काठमाडौँ । नुवाकोटको शिवपुरी गाउँपालिका ७ स्थित सूर्यचौरमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना भएको छ । काठमाडौंबाट स्याफ्रुबेंसी उडेको एयर डाइनेस्टीको ९एनएजेडी कलसाइन भएको उक्त हेलिकोप्टर बुधबार दिउँसो दुर्घटनामा परेको हो ।
हेलिकोप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विष्णुकुमार केसीका अनुसार क्याप्टेनसहित ५ जनाको शव निकालिएको छ । हेलिकोप्टर पाइलट अरुण मल्लबाहेक अरु चार जना चिनियाँ नागरिक रहेका छन् ।
नुवाकोटका एसपी शान्तिराज कोइरालाका अनुसार स्थानीयले डाँडामा धुँवा देखेपछि प्रहरीलाई खबर गरेको बताए । एयर डाइनेस्टीका व्यवस्थापक बालकृष्ण पण्डितका अनुसार हेलिकोप्टर हराइरहेको जानकारी प्राप्त भएको बताए ।
उनका अनुसार ४ जना विदेशीलाई स्याफ्रुबेंसी छाडेर फेरि त्यहाँबाट विदेशी नै लिएर काठमाडौं आउने गरी तालिका थियो । हेलिकोप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार १ बजेर १४ मिनेटमा हेलिकोप्टर उडेको थियो । पण्डितका अनुसार उक्त हेलिकप्टर चिनियाँ पर्यटक लिएर स्याफ्रुबेंसी उडेको थियो ।